अलैँचीको भाउ सात वर्षकै उच्च, किसान उत्साहित
News Desk
Aug-19 , 2025 तारिख 12:07 बेलुका

‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको प्रमुख नगदेबाली अलैँचीले यस सिजनमै उच्च मूल्य पाएको छ। नेपालकै ठूलो अलैँची बजार बिर्तामोडमा सोमबार प्रतिमन (४० केजी) ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले जानकारी दिए। उनका अनुसार गत वर्ष सोही समयमा प्रतिमन मूल्य ४० हजार रुपैयाँसम्म मात्र पुगेको थियो।

यस पटकको मूल्य विगत सात वर्षकै उच्च मानिएको छ। इतिहास हेर्दा २०६७ सालमा प्रतिमन अलैँची एक लाख २० हजारसम्ममा कारोबार भएको र त्यसपछि त्यस्तो मूल्य नदेखिएको उल्लेखनीय छ। गत वर्षतिर भाउ एक लाख पाँच हजारदेखि एक लाख सात हजार रुपैयाँसम्म पुगेको भए पनि हालको वृद्धिले किसानलाई अझै आशावादी बनाएको छ।

भदौ–असोजमा मूल्य बढ्नु मङ्सिर–पुसमा अझै चुलिने संकेत मानिन्छ। व्यापारीहरूले अहिले नै किसानबाट अलैँची खरिद गरी भण्डारण गर्ने र पछि बढी मूल्यमा बिक्री गर्ने प्रचलन पनि रहेको छ।

“एक मन अलैँची उत्पादन गर्न किसानले अधिकतम २० हजार रुपैयाँसम्म लागत बेहोर्छन्,” कार्यकारी निर्देशक ढुङ्गाना भन्छन्, “उत्पादन मूल्यभन्दा धेरै गुना बढीमा बिक्री गर्न पाउँदा किसान निकै उत्साहित भएका छन्। यसपटक मूल्य अझै बढ्ने संकेत देखिन्छ।”

हाल नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरेको भए पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम मुख्य उत्पादन क्षेत्र मानिन्छन्। प्रदेशमा मात्रै ७,५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती भइरहेको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा मात्र काँकडभिट्टा नाकाबाट करिब सात अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ। कुल उत्पादनको ९० प्रतिशत अलैँची निर्यात हुने नेपालमा, अझै पनि प्रत्यक्ष विश्व बजारमा ब्रान्डिङसहित लैजान सकिएको छैन। भारत पुगेको अलैँची त्यहाँ ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पठाइने गरेको व्यवसायीहरूको भनाइ छ।

 

धेरै पढिएको