News Desk
सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका–२, इको क्षेत्रमा गत साउन १८ गते आएको पहिरोका कारण अवरुद्ध सडक अझै सञ्चालनमा आउन नसक्दा तातोपानी नाकामा एक हजारभन्दा बढी कन्टेनर अलपत्र परेका छन्।
सडक बन्द भएपछि चीनतर्फबाट ल्याइएका सामग्री नेपाल भित्र्याउन नसकिएको तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले जानकारी दिए। उनका अनुसार सडक खुलाउने प्रयास भइरहे पनि पहिरोले सडकको अवस्था निकै जटिल बनाएको छ।
हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार दसैँ र तिहारलाई लक्षित गरेर आयात गरिएका सामग्री भरिएका कन्टेनर लामो समयदेखि रोकिएका छन्। “तातोपानी नाकामा करिब ३० मिटर क्षेत्रमा पहिरोको समस्या आएको हो, जसका कारण सामान ल्याउन नसकिएको छ,” उनले बताए।
यसरी सडक बन्द हुँदा चाडपर्व नजिकिँदै गर्दा काठमाडौँसहितका बजारमा आवश्यक सामग्री आपूर्ति प्रभावित हुने देखिएको छ।