आजदेखि चाड​प​र्व​ ल​क्षित​ सहुलियत मूल्य पसलहरू सञ्चालनमा आउने
News Desk
Sep-15 , 2025 तारिख 12:48 बेलुका

चाडपर्व नजिकिँदै गर्दा सरकारले उपभोक्तालाई राहत दिन देशभर १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आजदेखि यी पसलहरू सञ्चालनमा आउनेछन्। सहुलियत मूल्यमा बिक्री गरिएको सामानको बराबरको भुक्तानी सरकारले खोजभर्ना गर्ने व्यवस्था मिलाइएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्यकासहित ४५ जिल्लामा १११ स्थानमा बिक्री कक्ष सञ्चालन गर्ने तयारी गरेको छ। कम्पनीका पसलबाट प्रतिकेजी वा प्रतिलिटरमा पाँचदेखि १० रुपैयाँसम्म छुट दिइनेछ। चामल, दाल, गेडागुडी, कर्णालीका रैथाने उत्पादन, तेल, पिठो, मैदा, चिउरा, चिनी र क्वाँटीजस्ता उपभोग्य वस्तुमा छुट उपलब्ध हुनेछ। कम्पनीले अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा पनि उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार दशैँ, तिहार, छठ र माघीसम्म दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने तर बजारमा मूल्य अस्वाभाविक रूपमा बढ्ने सम्भावना भएकाले सहुलियत पसल सञ्चालन गरिएको हो। उनका अनुसार यस पटक दुई करोड ५२ लाख रुपैयाँ बराबरको खाद्यवस्तुमा छुट दिने योजना छ।

यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनले देशभर ४२ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ। उपत्यकामा मात्रै ११ स्थायी पसल र ३ मोबाइल भ्यानमार्फत १४ स्थानमा सेवा दिनेछ। कर्पोरेसनले चिनीमा प्रतिकेजी पाँच रुपैयाँ, नुनमा प्रतिकेजी दुई रुपैयाँ, तथा तेल, चामल, चिउरा र पिठोमा प्रतिकेजी सात रुपैयाँ छुट दिने जनाएको छ।

 साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकामा कालीमाटी, सतुंगल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जावलाखेल र स्वयम्भूमा बिक्री कक्ष सञ्चालन हुनेछ। त्यसबाहेक मागअनुसार उपत्यका र २२ जिल्लामा रहेका केन्द्रहरूबाट समेत सेवा उपलब्ध गराइनेछ। सहुलियत पसलबाट प्रतिव्यक्ति छ किलो नुन, दुई किलो चिनी, तथा समान मात्रामा तेल, चामल, दाल र चिउरा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

यसैबीच, दुग्ध विकास संस्थान (डीडीसी) ले यस वर्ष चाडपर्वमा दिने छुटबारे निर्णय नलिए पनि विगतमा पनीर, घिउलगायतका दुग्धजन्य पदार्थमा विशेष छुट उपलब्ध गराउँदै आएको छ।

 

धेरै पढिएको