दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको आपूर्ति सहज छ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
News Desk
Sep-16 , 2025 तारिख 12:10 बेलुका

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको आपूर्ति सहज रहेको स्पष्ट पारेको छ।

आज जारी गरिएको विज्ञप्तिमा मन्त्रालयले आवश्यक वस्तुको माग, आपूर्ति र मूल्यमा कुनै अस्वाभाविक असर नपार्न उपभोक्ता र व्यापारी दुवैलाई अनावश्यक सञ्चित नगर्न आग्रह गरेको छ। साथै बजार अनुगमनलाई कडाइका साथ अगाडि बढाइने र आपूर्ति अवरोध गर्ने वा उपभोक्ता अधिकार हननमा संलग्न हुनेलाई कानूनी कारबाही गरिने चेतावनी दिएको छ।

आगामी चाडपर्वलाई ध्यानमा राखी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभर १५३ स्थानमा सहुलियत मूल्य पसल सुरु गरिएको समेत मन्त्रालयले जानकारी दिएको छ।

यसैबीच, हालको विशेष परिस्थितिले उद्योग, वाणिज्य, व्यापार र आपूर्ति क्षेत्रमा पारेको प्रभावका बारेमा मन्त्रालयले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको प्रवक्ता तथा सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए। छलफलमा सरकारी तथा निजी संरचनामा भएको क्षति, आगजनी र तोडफोडको एकीकृत विवरण संकलन गर्ने निर्णय गरिएको उनले बताए।

उनका अनुसार औद्योगिक तथा व्यावसायिक वातावरण सुधार, लगानीको संरक्षण र प्रवर्द्धन, निजी क्षेत्रको मनोबल उकास्ने र क्षतिग्रस्त संरचनाको पुनःस्थापना सम्बन्धी विषयमा समेत विस्तृत छलफल गरिएको थियो।

 

धेरै पढिएको