चालु आर्थिक वर्षको पहिलो महिनामै मुलुकको व्यापार घाटा १ खर्ब १९ अर्ब ११ करोड
News Desk
Sep-16 , 2025 तारिख 12:26 बेलुका

चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा अझ बढेर एक खर्ब १९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार यो घाटा अघिल्लो वर्षको सोही अवधिभन्दा २.५ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको यसै अवधिमा व्यापार घाटा ०.४ प्रतिशतले मात्र बढेको थियो।

राष्ट्र बैंकका तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा वस्तु आयात ११.४ प्रतिशतले बढ्दै एक खर्ब ४३ अर्ब चार करोडमा पुगेको छ। अघिल्लो वर्षको साउनमा भने आयात ०.६ प्रतिशतले घटेको थियो। मुलुकगत आधारमा भारतबाट ७.५ प्रतिशत, चीनबाट १४.१ प्रतिशत र अन्य मुलुकबाट २०.५ प्रतिशतले आयात वृद्धि भएको देखिन्छ। वस्तुगत हिसाबले भटमासको कच्चा तेल, यातायात उपकरण, सवारीसाधन र पार्ट्स, चामल–धान, कोइला तथा रासायनिक मलको आयात बढेको छ भने हट रोल्ड सिट, खानेतेल, पेट्रोलियम पदार्थ, मेसिनरी पार्ट्स र तेलहनको आयात घटेको छ।

यस अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्षको ९.५ प्रतिशतभन्दा उल्लेख्य सुधार हो। भारततर्फ परिवर्त्य विदेशी मुद्रा भुक्तानीमार्फत १३ अर्ब ४३ करोड बराबरको वस्तु आयात भएको छ, जबकि गत वर्ष सोही अवधिमा १३ अर्ब ९८ करोडको आयात भएको थियो।

निर्याततर्फ सकारात्मक संकेत देखिएको छ। पहिलो महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा भने निर्यात ९.६ प्रतिशतले घटेको थियो। मुलुकगत आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले बढेको छ भने चीनतर्फ ६५.२ प्रतिशत र अन्य मुलुकतर्फ १.४ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैँची र जुटका सामानको निर्यातमा वृद्धि भएको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना र चियाको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ।

 

धेरै पढिएको