डेडिकेटेड र ट्रङ्कलाइनका बक्यौता तत्काल उठाउन उर्जामन्त्री घिसिङ्ले दिए निर्देशन
News Desk
Sep-16 , 2025 तारिख 12:36 बेलुका

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहणलगत्तै डेडिकेटेड र ट्रङ्कलाइनका बक्यौता तत्काल उठाउन निर्देशन दिएका छन्।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले भने, “नेपाल अहिले आर्थिक र राजनीतिक संकटमा छ। यस्तो अवस्थामा व्यवसायी तथा मुलुकभित्र–बाहिर रहेका नागरिकले सहयोग गर्नैपर्छ। डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउनु अहिलेको पहिलो काम हो।” उनले पुनःनिर्माणका लागि विशेष कोष खडा गरी सबै पक्षको सहकार्य लिने योजना पनि सार्वजनिक गरे।

शीतल निवासमा पद तथा गोपनीयताको शपथपछि मन्त्री घिसिङ जेनजी आन्दोलनका क्रममा घाइते भेट्न पुगेका थिए। त्यसपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आन्दोलनका मागलाई सार्थक बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विशेष परिस्थितिमा बनेको अन्तरिम सरकारले समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै द्रुत गतिमा अघि बढ्ने बताए।

मन्त्री घिसिङले लोकतान्त्रिक आन्दोलन र हालैको जेनजी प्रदर्शनमा ज्यान गुमाएका प्रती श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख दायित्व भएको स्मरण गराउँदै, “अब निर्माणको अभियान सुरु हुन्छ” भनेर प्रतिबद्धता जनाए।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक रहिसकेका घिसिङलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार साँझ मन्त्रिपरिषद्मा नियुक्त गरेका हुन्।

 

धेरै पढिएको