जेन जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति ललितपुर चेम्बर अफ कमर्सद्वारा गहिरो दुःख व्यक्त
News Desk
Sep-16 , 2025 तारिख 05:48 बेलुका

 

ललितपुर, भदौ ३१ – ललितपुर चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा ५१ जनाभन्दा बढीको ज्यान गुम्नु र ठूलो जनधनको क्षति हुनुमा गहिरो दुःख प्रकट गरेको छ। विज्ञप्ति जारी गर्दै चेम्बरले आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

चेम्बरले आन्दोलनका क्रममा ऐतिहासिक धरोहर, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट अपूरणीय क्षति भएकोप्रति चिन्ता व्यक्त गरेको छ। साथै औद्योगिक र व्यावसायिक क्षेत्रमा परेको असरप्रति गम्भीर ध्यानाकर्षण गराउँदै वर्तमान परिस्थितिमा सबै पक्षले संवाद, सहकार्य र संयमता अपनाउनुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा सहज पहुँच जस्ता जेन-जीले उठाएका विषयहरुलाई गम्भीरतापूर्वक लिनुपर्ने आजको आवश्यकता हो।”

चेम्बरले जनधनको ठूलो क्षतिले मुलुकमा निराशा थप्ने र औद्योगिक तथा व्यवसायिक वातावरणमा प्रतिकूल असर पार्ने भएकाले संयमित भई निकास खोज्न सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ। आउँदो दशैं पर्वलाई पनि मध्यनजर गर्दै उद्यमी तथा व्यवसायीलाई सुरक्षित भई व्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको छ।

साथै, नवगठित सरकारप्रति शुभकामना व्यक्त गर्दै चेम्बरले प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सुशासन, शान्ति, भ्रष्टाचारमुक्त समाज र आर्थिक विकाससहित नयाँ नेपाल निर्माण हुने विश्वास व्यक्त गरेको छ।

 

धेरै पढिएको