News Desk
जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट मात्रै ३८ करोड रुपैयाँ हाराहारीमा लुटपाट भएको पाइएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सुन र नगद गरेर कुल ३७ देखि ३८ करोडसम्मको लुटपाट भएको बताएका हुन्।
उनले सुशान्त प्रधानको पडकास्टमा दिएको अन्तर्वार्तामा संसद् भवनमा रहेको वाणिज्य बैंकमा ‘सिरियस चोरी’ भएको खुलासा गरेका हुन्। उक्त शाखाबाट ५ करोड नगद र १८ किलो सुन चोरिएको उनको भनाइ छ।
‘एक ठाउँमा भने सिरियस लुटपाट भएको छ। संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा ५ करोड नगद र १८ किलो सुन लुटिएको छ। ३७/३८ करोड बराबरको लुटपाट भएको छ’, उनले पडकास्टमा भनेका छन्।
प्रदर्शनका क्रममा राष्ट्र बैंकमा क्षति नभए पनि बैंकका शाखाहरुमा भने गम्भीर क्षति भएको देखिएको हो।
प्रदर्शन साम्य भएपछि गभर्नर पौडेलले २६ गते संसद् भवनमा रहेको उक्त शाखाको अनुगमन गरेका थिए।
सुरुवाती अनुसन्धानबाट संसद् भवनको वाणिज्य बैंकको शाखा कार्यालयका लकरसहित तोडफोड र लुटपाट हुँदा करोडौँको क्षति पुगेको गभर्नर स्वयंले खुलासा गरेका हुन्।
हालसम्म औपचारिक रुपमा उक्त शाखाबाट कति लुटपाट भयो भन्ने विवरण नआए पनि गभर्नर डा. पौडेलले ३८ करोड लुटिएको अनुमानित तथ्यांकबारे जानकारी दिएका छन्।
घटना नियन्त्रणबाहिर गएपछि स्थानीयको भीडले शाखा कार्यालयमा प्रवेश गरी लकर तोडफोड गरेको थियो। त्यही क्रममा ठूलो परिमाणमा नगद र सुन चोरी भएको प्रारम्भिक जानकारी छ।
गभर्नर पौडेलका अनुसार लुटपाटमा संलग्न व्यक्तिहरु अहिलेसम्म पक्राउ परेका छैनन्। राष्ट्र बैंक र प्रहरीले उपलब्ध सीसीटीभी फुटेजका आधारमा संलग्नको पहिचान र अनुसन्धानलाई तीव्र बनाएको छ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले शाखामा भएको क्षतिको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन्। “हामीले अनुसन्धानलाई अन्तिम टप्पामा पुर्याएका छौं, आज वा भोलिसम्म सकिनेछ। त्यसपछि मात्र क्षतिको वास्तविक परिमाण सार्वजनिक गर्न सकिन्छ,” उनले स्पष्ट पारे।
उक्त शाखाबाहेक अन्य शाखामा भने कर्मचारी र प्रदर्शनकारीबीच संयमता कायम भएकाले लुटपाट हुन पाएन। गभर्नर पौडेलले संसद् भवनभित्रको शाखा मात्र प्रभावित भएको र बाँकी शाखा सुरक्षित रहेको जानकारी दिएका छन्।
घटनापछि बैंकर्स एसोसिएसनले प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरे पनि अन्तिम प्रतिवेदन भने अझै आएको छैन। राष्ट्र बैंकले केही दिनभित्रै विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
गभर्नर पौडेलले घटना घट्नेबित्तिकै विभिन्न बैंकका सीईओहरूसँग भेट गरी क्षतिको विवरण मागिएको तर अझै पूर्ण जानकारी आउन बाँकी रहेको बताए।