News Desk
भारतले चाडपर्वलाई ध्यानमा राख्दै नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्ने अनुमति दिएको छ। भारतीय सरकारले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत यो परिमाणको चिनी नेपाल पठाउने व्यवस्था मिलाएको हो।
सरकारको निर्णयअनुसार २०२६ सेप्टेम्बर ३० सम्म निर्यातको अनुमति रहनेछ। नेपालतर्फ उक्त चिनी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमार्फत आयात गरिनेछ।
नेपालमा चिनी उत्पादन भए पनि मागको तुलनामा पर्याप्त हुँदैन। यहाँ वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी खपत भए पनि आन्तरिक उत्पादन डेढ लाख मेट्रिक टनमै सीमित हुने विज्ञहरू बताउँछन्।
यही कारण चाडपर्वका बेला चिनीको आपूर्ति अभाव हुने समस्या दोहोरिने गरेको छ। दसैं–तिहारमा चिनीको कमी नहोस् भनेर भारतले विशेष रूपमा यो अनुमति दिएको जनाइएको छ।