सरकारले तोकेको भन्दा कम मूल्यमै टिकट उपलब्ध गराइरहेका छौ : वायुसेवा सञ्चालक संघ
News Desk
Sep-26 , 2025 तारिख 12:16 बेलुका

नजिकिँदै गरेको दसैँका अवसरमा हवाई यात्रुहरूले महँगो भाडाबारे गुनासो गर्दै आएका बेला हवाई सेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले भने सरकारले तोकेको भन्दा कम मूल्यमै टिकट उपलब्ध गराइरहेको दाबी गरेको छ।

संघका अध्यक्ष मनोज कार्कीले जारी गरेको विज्ञप्तिअनुसार बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी यात्रुसँग अतिरिक्त शुल्क लिएको भन्ने गुनासोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ। तर हाल टिकटहरू सरकारले तोकेको अधिकतम भाडादरभन्दा कम मूल्यमै बिक्री भइरहेको र आगामी दिनमा पनि कम दरमै टिकट उपलब्ध गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

संघले स्पष्ट पारेअनुसार गत असोज ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा भएको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी र वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच सहमति भई यही निर्णय गरिएको हो।

साथै संघले हाल दुर्गम क्षेत्रतर्फ उडानको माग कम रहेको र त्यहाँको हवाई भाडा दर पनि सरकारले तोकेको अनुसार नै कायम रहेको जानकारी दिएको छ।

धेरै पढिएको