News Desk
काठमाडौं । बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका अध्यक्ष दीपक नेपालले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । नेपालले वि.सं. २०७७ सालदेखि निरन्तर संस्थाको अध्यक्ष पदमा रहेर संस्थालाई व्यवस्थित, सशक्त र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान दिएका थिए । लामो समयको यात्रापछि नेपालले नेतृत्व पुस्तान्तरण आवश्यक भएको बताउँदै पदबाट अलग हुने निर्णय गरेका हुन् ।
नेपालले आफ्नो राजीनामाको कारण प्रष्ट्याउँदै भने,‘एकै व्यक्तिले निरन्तर नेतृत्व गर्नु संस्थागत संस्कृतिका दृष्टिले उचित हुँदैन, नयाँ पुस्ताले अवसर पाउनु पर्छ भन्ने मेरो धारणा हो, अहिलेको समय नयाँ पिढीका युवाहरूकै हो, उनीहरूले नयाँ सोच, उत्साह र उर्जा सहित संस्थालाई अझै अगाडि बढाउने छन् भन्ने विश्वास छ ।’ अध्यक्ष नेपालको राजीनामालाई संस्थाभित्र नेतृत्व हस्तान्तरणको सकारात्मक अभ्यासको रूपमा लिइएको छ । नेपालको कार्यकालमा संस्थाले ६ हजार भन्दा बढी सदस्यहरुलाई एकताबद्ध गर्दै विभिन्न समस्या समाधानमा अग्रणी भूमिका निर्वाह गरेको थियो ।