News Desk
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवर्द्धन र संरक्षण अपरिहार्य भएको बताएकी छन्।
४६औँ विश्व पर्यटन दिवसका अवसरमा मंगलबार जारी शुभकामना सन्देशमा उनले नेपालका अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय र बहुभाषिक सांस्कृतिक सम्पदा तथा विश्वप्रसिद्ध हिमालका कारण देश पर्यटकहरूको आकर्षक गन्तव्य बनेको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै भनिन्, “सुशासनको आकांक्षासहित भएको जेन–जी आन्दोलनका कारण केही समय पर्यटन क्षेत्रमा चुनौती देखिए पनि अहिले ती समस्या क्रमशः समाधान हुँदै पर्यटन क्षेत्र पुनः उकासिन थालेको छ।”
उनले पर्यटकीय पूर्वाधार सुधार, स्थानीय समुदायलाई लाभ हुने नीतिहरू लागू गर्न र निजी क्षेत्रलाई सहकार्यका लागि प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।