नेपाल विद्युत प्राधिकरणबाट २४ सौर्य आयोजनासँग पीपीए स्वीकृत, ३५५ मेगावाट विद्युत उत्पादनको बाटो खुल्यो
News Desk
Sep-28 , 2025 तारिख 12:18 बेलुका

नेपाल विद्युत प्राधिकरण (एनईए)ले लामो समयदेखि रोकिएका सौर्य ऊर्जासम्बन्धी विद्युत खरिद सम्झौता (पीपीए)लाई अन्ततः स्वीकृति प्रदान गरेको छ। प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले कुल ३५५ मेगावाट क्षमता भएका २४ सौर्य आयोजनासँग पीपीएमा हस्ताक्षरका लागि अन्तिम स्वीकृति दिएका हुन्।

पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पालामा नै यो प्रक्रिया अन्तिम चरणमा पुगेको भए पनि उनका उत्तराधिकारी हितेन्द्रदेव शाक्यले प्रक्रिया रोकेर राखेका थिए। उनले एक व्यवसायीका ८ आयोजना मात्र स्वीकृत गरी बाँकी आयोजनाहरूलाई बिना कारण रोकिएको आरोप लाग्दै आएको थियो।

प्राधिकरणका अधिकारीहरूका अनुसार तत्कालीन ऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यबीच सहमति नजुटेकै कारण पीपीए प्रक्रिया लामो समय अड्किएको थियो। हाल ऊर्जामन्त्रीमा कुलमान घिसिङ पुनः नियुक्त भएपछि सरकारले हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोग सचिवालयमा विज्ञ सदस्यका रूपमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई जिम्मेवारी दिएको हो। यो निर्णय असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले गरेको हो।

पीपीए स्वीकृत भएसँगै अब आयोजनाहरूले वित्तीय व्यवस्थापन गरी निर्माण कार्य अघि बढाउने बाटो खुलेको छ। प्राधिकरणको विद्युत व्यापार विभागले विभिन्न सबस्टेसनका लागि आवश्यक क्षमता तोकेर प्रतिस्पर्धात्मक दरमा प्रस्ताव आह्वान गरेको थियो।

प्रतियुनिट आधार मूल्य ५ रुपैयाँ ९४ पैसा तोकिएको प्रतिस्पर्धामा सहभागी आयोजनाहरूमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गर्नेलाई विद्युत खरिद सम्झौता गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ।

यो कदमले देशको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी र उत्पादन दुवैलाई गति दिने अपेक्षा गरिएको छ, जसले आगामी वर्षहरूमा स्वच्छ ऊर्जा आपूर्ति र विद्युत निर्यात क्षमतामा पनि वृद्धि गर्ने प्राधिकरणको विश्वास छ।

धेरै पढिएको