News Desk
कृषि तथा पशुपक्षी विकासमन्त्री मदन परियारले सरकारले चालू वर्ष उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरेका छन्।
बुधवार मन्त्रालयमा कृषि पत्रकारहरूसँगको अन्तरसंवादमा मन्त्री परियारले गत वर्ष प्रतिक्विन्टल ७५ रुपैयाँ दिने निर्णय भए पनि अन्ततः किसानलाई ३५ रुपैयाँ मात्र भुक्तानी भएको जानकारी दिए। उनले किसानको रकम किन कटौती भयो भन्ने विषयबारे आफूलाई स्पष्ट जानकारी नभएको बताए।
परियारका अनुसार, यस वर्ष किसानहरूले ७० रुपैयाँको माग गरेका छन् र सरकारले सोही दरमा प्रोत्साहन रकम उपलब्ध गराउने तयारी गरेको छ।
उनले दुग्ध विकास संस्थान (डीडीसी)सँग किसानको ५३ करोड रुपैयाँ अझै बाँकी रहेको तथ्य पनि प्रस्तुत गरे। दशैंअघि ८३ करोड रुपैयाँ बक्यौता रहेकामा हालसम्म ३० करोड रुपैयाँ भुक्तानी गरिएको उनले बताए। मन्त्री परियारले किसानहरूले बारम्बार दूधको बक्यौता भुक्तानीबारे म्यासेज पठाउने गरेको उल्लेख गरे।
“म मन्त्री भएको भोलिपल्टै किसानहरूले दूधको पैसा कहिले पाउँछौं भनेर म्यासेज पठाए। उखु किसानले पनि सोही गुनासो गरेका छन्। सरकारले प्रतिक्विन्टल ७५ रुपैयाँ दिने भनिएको थियो तर ७० रुपैयाँ मात्रै दिइयो, गत वर्ष त घटाएर ३५ रुपैयाँमा झारियो। किसानहरूको पीडा बुझ्नुपर्छ,” मन्त्री परियारले भने।
उनले कृषि तथा पशु बीमा कार्यक्रमलाई विस्तार गर्ने, किसानलाई तरकारी र फलफूलको उचित मूल्य सुनिश्चित गर्ने, साथै चिया र कफी उत्पादनमा विशेष प्रोत्साहन दिने योजना मन्त्रालयको प्राथमिकतामा रहेको स्पष्ट पारे।