News Desk
सरकारले देशभरका ६५ रुग्ण सडक र पुलका ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ।
मध्यपहाडी, हुलाकी राजमार्ग लगायतका प्रमुख राजमार्ग खण्ड र दर्जनौँ पुलसम्बन्धी निर्माण ठेक्का तोड्ने उद्देश्यले सरकारको तर्फबाट सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीहरूलाई औपचारिक पत्राचार गरिएको हो।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका अनुसार यसको कार्यक्षेत्रभित्र मात्र १ सय ७ वटा रुग्ण ठेक्का परियोजना रहेका छन्, जस मध्ये ३० वटा आयोजनाका ठेक्का तोड्न तयारी भइसकेको छ।
सडक विभागका अनुसार देशभर हाल करिब २५० भन्दा बढी रुग्ण ठेक्का रहेका छन्, र यी ठेक्काहरूलाई क्रमिक रूपमा रद्द गर्ने प्रक्रिया जारी छ।
यीमध्ये धेरै परियोजनाहरू १५ वर्षअघि ठेक्का सम्झौता गरिएका हुन्, जसको म्याद पटक–पटक बढाउँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन।
यसपछि सरकारले १५ दिने अन्तिम सूचना जारी गरेको छ — सो अवधिभित्र पनि निर्माण कम्पनीहरूले उचित कारण पेस नगरेमा, पहिलो चरणमा ६५ वटा सडक र पुलको ठेक्का औपचारिक रूपमा रद्द गरिनेछ।
गत वर्ष पनि सरकारले १०० वटा रुग्ण सडक र पुलका ठेक्का तोडेकाे थिए, र यस वर्ष यो अभियानलाई अझ कडाइका साथ अघि बढाउने तयारीमा रहेको जनाएको छ।