मनसुन समाप्तसँगै मनाङमा विदेशी पर्यटकको चहलपहल बढ्दै
News Desk
Oct-20 , 2025 तारिख 01:16 बेलुका

मनसुन अन्त्यसँगै हिमाली जिल्ला मनाङको मौसम खुल्न थालेपछि यहाँको पर्यटन पुनः जीवित हुन थालेको छ। मनाङ अहिले पर्यटक सिजनको सुरुआतमा प्रवेश गरेको छ, जसका कारण विदेशी पर्यटकहरूको आगमन तीव्र भएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) इकाइ कार्यालय मनाङका अनुसार सिजन सुरु भएको डेढ महिनाभित्र नै ७ हजार ४६१ जना विदेशी पर्यटक मनाङ पुगेका छन्। कार्यालयका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङका अनुसार इजरायल, जर्मनी, युनाइटेड किङडम, अष्ट्रेलिया लगायत ८७ देशका पर्यटकले अन्नपूर्ण पदमार्ग, थोराङ्ला पास, लार्के पास र तिलिचो तालको भ्रमण गरेका छन्।

गुरुङका अनुसार, “मनाङको पर्यटनले यसपटक पुनः गतिको संकेत दिएको छ। यो सिजनले न केवल स्थानीय अर्थतन्त्रलाई बल पुर्‍याउनेछ, देशकै आर्थिक चक्रलाई पनि सघाउने अपेक्षा गरिएको छ।”

जेन-जी आन्दोलन र मनसुनका कारण पहिरो तथा बाढीले गत महिनासम्म पर्यटनमा असर पारेको भए पनि अहिले अवस्था सुधारिँदै गएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङ बताउँछन्। “शान्ति स्थापना र मौसम खुल्नासाथ पर्यटक फर्किन थालेका छन्। केही समयअघि होटलका बुकिङहरू रद्द भएका थिए, अहिले भने ती पुनः भरिन थालेका छन्,” उनले बताए।

होटल व्यवसायी नवीन विक्रम सिंहका अनुसार, अझै अपेक्षित संख्यामा पर्यटक नआए पनि अवस्था सुधार भइरहेको छ। “विशेष गरी हिल्टन होटलमा भएको आगजनीपछि केही विदेशी पर्यटक त्रसित भएका थिए, तर अहिले फेरि विश्वास फर्कँदैछ,” सिंहले भने।

अहिले अन्नपूर्ण पदमार्गमा सवारीसाधन सहज भएपछि बेँसीसहरदेखि चामे र खाङ्सारसम्म पर्यटक जीपमा पुग्ने र त्यसपछि पदमार्ग यात्रा गर्ने गरेका छन्। मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जोड्ने यो पदमार्ग विश्वकै आकर्षक र जोखिमयुक्त ट्रेकिङ मार्गमध्ये एक हो।

पर्यटकहरू हिमाल र पहाडका मनोरम दृश्य, मनाङवासीको मौलिक संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यमा आकर्षित भएर यहाँ आउँछन्। पछिल्ला वर्षहरूमा स्वदेशी पर्यटकहरू पनि ग्रामीण पर्यटन र साहसिक यात्राप्रति आकर्षित हुन थालेका छन्, जसले मनाङको पर्यटनलाई थप जीवन्त बनाएको छ।

स्थानीय व्यवसायीहरूका अनुसार, मनाङको पदमार्ग र सडकलाई अझ सहज बनाउने दिशामा संघ, प्रदेश र स्थानीय सरकारको समन्वय आवश्यक छ। उनीहरूको विश्वास छ— मनसुनपछि सुरु भएको यो सिजनले मनाङको पर्यटनमा नयाँ उत्साह ल्याउनेछ।

धेरै पढिएको