News Desk
भदौ महिनामा सुस्ताएको घरजग्गा कारोबार असोजमा झनै कमजोर बनेको छ। मालपोत कार्यालयमा भएको आगजनी र तोडफोड घटनाले स्थावर सम्पत्ति कारोबारमा प्रत्यक्ष असर पारेको देखिएको छ। यसले सरकारको राजस्व संकलनमा पनि उल्लेखनीय कमी ल्याएको छ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार चालू वर्षको असोज महिनामा २३ हजार ३५३ वटा मात्र लिखत पारित भएका छन। गत वर्षको यही अवधिमा यो संख्या ३० हजार ५०० थियो, भने यस वर्षको भदौ महिनामा २७ हजार ४ सय लिखत दर्ता भएका थिए।
व्यवसायीहरूका अनुसार जेन–जी आन्दोलनका क्रममा मालपोत कार्यालयमा भएको तोडफोड र कित्ताकाटमा रोक लगाइएका कारण घरजग्गा कारोबार ठप्पजस्तै भएको छ। यसका साथै निजी सम्पत्तिमाथि भएको क्षतिको कारण लगानीकर्ताहरू अझै डराइरहेका छन। जग्गा तथा आवास विकास संघका अध्यक्ष बिदुर धमलाका अनुसार, “सुरक्षाको वातावरण कमजोर हुँदा लगानीकर्ताले नयाँ कारोबारमा रुचि देखाइरहेका छैनन।”
घरजग्गा कारोबार घटेपछि राज्यको आम्दानीमा समेत प्रत्यक्ष असर परेको छ। असोज महिनामा यस क्षेत्रबाट २ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको सोही अवधिमा संकलित ३ अर्ब ८ करोड रुपैयाँभन्दा उल्लेख्य रूपमा कम हो।
विश्लेषकहरूका अनुसार राजनीतिक अस्थिरता, प्रशासनिक अव्यवस्था र बजारमा देखिएको अविश्वासको वातावरणका कारण निकट भविष्यमा पनि घरजग्गा कारोबारले गति नलिन सक्ने अनुमान गरिएको छ।