News Desk
बुटवलमा हालै ३ करोड ६५ लाख रुपैयाँ लागतमा अत्याधुनिक मोनोपोल विद्युत् प्रसारण लाइन जडानको काम सुरु गरिएको छ। यो परियोजना अन्तर्गत बुटवलदेखि मोतीपुरसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेका पुराना चारखुट्टे टावर हटाइ एकखुट्टे मोनोपोल टावर जडान गरिँदैछ। नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभरका १३२ केभी प्रसारण लाइनहरूमध्ये बुटवल नै पहिलो क्षेत्र हो, जहाँ मोनोपोल प्रविधिको प्रयोग थालिएको हो।
कालिकापथको योगीकुटीदेखि न्यू होराइजनसम्मका चार स्थानमा प्रारम्भिक जडान कार्य अगाडि बढाइएको छ। यसअघि पुराना टावरहरूले सडकको करिब ६ मिटर क्षेत्र ओगट्दै आएका थिए भने नयाँ मोनोपोल टावरहरू मात्र २ मिटरको दायराभित्र सीमित हुनेछन्। यसले सडक विस्तार र सवारी आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।
विद्युत् प्रसारण पूर्वाधारको आधुनिकीकरणका रूपमा हेरिएको यो योजना बुटवललाई प्राविधिकरूपमा अग्रणी शहरका रूपमा स्थापित गर्ने प्रयास पनि हो। प्राधिकरणले आगामी दिनमा अन्य प्रमुख सहरहरूमा पनि यस्तै प्रविधि विस्तार गर्ने तयारी गरेको जनाएको छ।