एभोगाडो खेतीका लागि धनकुटा नगरपालिकाले मेक्सिको सहर सिताकुआरोसँग भगिनी सम्बन्ध स्थापना गर्ने
News Desk
Nov-05 , 2025 तारिख 11:59 बिहान

एभोकाडो खेतीमा देखिएका जात पहिचान, रोग–कीरा नियन्त्रण र बजार अभावका चुनौती समाधान गर्न धनकुटा नगरपालिकाले मेक्सिको सहर सिताकुआरोसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि संघीय सरकारले आवश्यक पूर्वस्वीकृति दिइसकेको छ, जसपछि धनकुटा नगरपालिकालाई एभोकाडो खेतीसँग सम्बन्धित प्रविधि, प्राविधिक सीप, बगैंचा व्यवस्थापन, भण्डारण, प्रसोधन र बजार नीति मेक्सिकोबाट सिक्ने अवसर प्राप्त हुनेछ।

धनकुटामा दुई दशकअघि व्यक्तिगत स्तरबाट सुरु भएको एभोकाडो खेती अहिले करिब १२ हजार रोपनी क्षेत्रमा फैलिएको छ। हरेक वर्ष बिरुवा र फलको बिक्रीबाट करिब चार करोड रुपैयाँ आम्दानी भए पनि व्यवसायिक व्यवस्थापन नहुँदा यो खेती चुनौतीमा परेको छ। पहिचान नभएका रोगका कारण बोट मर्ने समस्या बढ्दै गएको छ भने जात र गुणस्तर व्यवस्थापनमा अझै कमजोरी रहेको छ।

बढ्दो मागका बाबजुद किसानहरू बजार सम्पर्क र प्राविधिक सहयोगको अभावमा परेका छन्। स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा अनुसन्धान निकायमा एभोकाडो सम्बन्धी विज्ञ र विशेषज्ञ प्राविधिक नहुँदा खेती अनुमानकै भरमा भइरहेको छ। रोग–कीरा नियन्त्रण, ग्राफ्टिङ, फलको परिपक्वता र गुणस्तर व्यवस्थापनमा एकरूपता छैन।

यिनै समस्याको दीर्घकालीन समाधानका लागि धनकुटा नगरपालिकाले मेक्सिकोको सिताकुआरो सहरसँग सहकार्य गर्दै एभोकाडो खेतीमा विश्वस्तरीय प्रविधि र अनुभव ल्याउने तयारी गरेको हो। गत भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले यसका लागि औपचारिक स्वीकृति प्रदान गरिसकेको छ।

धनकुटा नगरपालिकाले निकट भविष्यमै सिताकुआरो नगरसँग प्राविधिक तथा नीतिगत सहयोगको प्रस्ताव पठाउने तयारी गरिरहेको छ। यस सहकार्यपछि एभोकाडो बगैंचा व्यवस्थापन, उत्पादन वृद्धि, गुणस्तर सुधार, ब्रान्डिङ र निर्यात प्रवर्द्धनमा ठोस प्रगति हुने अपेक्षा गरिएको छ।

धनकुटाको उपयुक्त हावापानी, भूगोल र किसानको उत्साहले यस क्षेत्रमा एभोकाडो खेतीलाई दीर्घकालीन व्यवसायिक उत्पादनमा रूपान्तरण गर्ने सम्भावना अत्यधिक रहेको नगरपालिकाको विश्वास छ। मेक्सिकोसँगको भगिनी सम्बन्धले धनकुटालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा ‘एभोकाडो हब’का रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

धेरै पढिएको