रूपन्देहीमा उत्पादित​ फ्रेन्च फ्राइज अमेरिका निर्यात​
News Desk
Nov-06 , 2025 तारिख 12:56 बेलुका

रूपन्देहीमा उत्पादन भएको आलुबाट बनेको परिकार फ्रेन्च फ्राइज अब अमेरिका पुग्न थालेको छ। शुद्धोधन गाउँपालिकास्थित फर्स्ट च्वाइस फुड्स लिमिटेडले उत्पादन गरेको ४२ टन प्रिमियम ग्रेडको फ्रोजन फ्रेन्च फ्राइज पहिलोपटक भैरहवा भन्सारमार्फत बेलहिया नाकाको बाटो हुँदै मंगलबार अमेरिकातर्फ पठाएको हो। कम्पनीले अमेरिकामा कुल ५ सय टन फ्रेन्च फ्राइज निर्यात गर्ने सम्झौता गरेको छ, जसको प्रारम्भिक चरणका रूपमा यो पहिलो खेप हो।

‘किसानको पौरख, हाम्रो गौरव’ भन्ने नारासहित २६ जिल्लाका ३५ हजारभन्दा बढी किसानबाट खरिद गरिएको आलु प्रशोधन गरी फ्रेन्च फ्राइज उत्पादन गरिएको कम्पनीले जनाएको छ। सञ्चालक कृष्ण पौडेलका अनुसार, स्वादिलो र गुणस्तरीय उत्पादनले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले अमेरिकी बजारमा पठाउन सम्भव भएको हो।

बेलहिया नाकाबाट छुटेका दुई कन्टेनर फ्रेन्च फ्राइज कलकत्ता बन्दरगाह हुँदै करिब ५५ दिनमा अमेरिकामा पुग्नेछन। ४२ टन फ्रेन्च फ्राइजको बिक्रीबाट करिब ४० हजार अमेरिकी डलर आम्दानी हुने अनुमान गरिएको छ। प्रत्येक प्याकेटको तौल साढे दुई किलो रहेको छ। पहिलो खेप सफलतापूर्वक पुगेपछि कम्पनीले थप खेप पठाउने तयारी गरेको छ।

किसानबाट खरिद गरी प्रशोधन गरिएको आलुको परिकार तेस्रो मुलुकमा पठाउन भैरहवा भन्सार कार्यालयले आवश्यक सहजीकरण प्रदान गरेको छ। निर्यात अघि खाद्य सुरक्षासम्बन्धी प्रमाणपत्र प्राप्त गर्न, भारतीय भन्सारसँग समन्वय गर्न र अग्रिम भुक्तानी सुनिश्चित गर्न कार्यालय सक्रिय रहेको बताइएको छ।

करिब दुई अर्ब रूपैयाँ लगानीमा स्थापन भएको फर्स्ट च्वाइस फुड्स लिमिटेडको उत्पादन क्षमता प्रतिघण्टा दुई दशमलव पाँच टन रहेको छ। हाल नेपाल र भारतका विभिन्न सहरहरूमा आफ्ना उत्पादन बिक्री गर्दै आएको कम्पनीले आगामी दिनमा आलुका थप परिकार विकास गरी युरोपेली मुलुकहरूमा पनि निर्यात विस्तार गर्ने योजना बनाएको छ।

धेरै पढिएको