News Desk
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगत सदस्य बनेको नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ (नाल्बा) ले ‘समृद्धिका लागि कृषि’ शीर्षकमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमका मुख्य वक्ता तथा बागमती प्रदेशका कृषि विकास मन्त्री मधुसुदन पौडेलले कृषि क्षेत्रमा व्यावसायिक रूपान्तरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै, आगामी बजेटमा पनि कृषिलाई विशेष प्राथमिकता दिइने बताए।
पूर्व कृषि सचिव योगेन्द्र कार्कीले निजी क्षेत्रले कृषि विकासलाई रणनीतिक रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिदैँ सरकार–निजी क्षेत्र सहकार्य भएमा कृषिमा ठूला उपलब्धि हासिल गर्न सकिने धारणा राखे।
यस अन्तरक्रियाले कृषि क्षेत्रका विशेषज्ञ, सरकारी प्रतिनिधि, निजी क्षेत्रका व्यवसायी तथा विभिन्न संघ–संस्थाका पदाधिकारीलाई साझा मञ्चमा ल्याइ कृषि विकासका सम्भावनाबारे गहन छलफल भएको आयोजकले बताएको छ।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव, कृषि विभागका डिजी प्रकाश सन्जेल, महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, पूर्व योजना आयोग सदस्य डा. दिपेन्द्र श्रेष्ठ, सिटिक्यानका वरिष्ठ उपाध्यक्ष कृष्ण सापकोटा, निर्यात प्रवद्र्धन समितिका सभापति नरेशलाल श्रेष्ठलगायतले आ–आफ्ना धारणा राखे।
नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा केन्द्रका सदस्य तथा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए। कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी निर्देशक दिपेन्द्र जोशीले ‘समृद्धिका लागि कृषि’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
अध्यक्ष टिकाप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव श्रीकृष्ण भण्डारीले अतिथिहरूलाई स्वागत गरेका थिए।