अर्थतन्त्रका समसामयिक विषयमा चेम्बरमा संवाद कार्यक्रम सम्पन्न
News Desk
Nov-17 , 2025 तारिख 12:31 बिहान

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित ‘अर्थतन्त्रका समसामयिक विषयहरूमा छलफल तथा संवाद’ कार्यक्रम आइतबार चेम्बर भवन, जमलमा सम्पन्न भएको छ। कार्यक्रमका मुख्य अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा मुलुकको आर्थिक अवस्था, नीतिगत चुनौती र समाधानका संभावनाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा अर्थमन्त्री खनालले हालको आर्थिक चुनौती स्वीकार गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गरे। उनले भने, “अर्थतन्त्र सुदृढ बनाउन सरकार र निजी क्षेत्रबीचको साझेदारी अनिवार्य छ। लगानीमैत्री वातावरण निर्माण, वित्तीय अनुशासन कायम र नीतिगत स्थिरता सुनिश्चित गर्न सरकारले निरन्तर पहल गरिरहेको छ।” उनले उत्पादन, निर्यात र रोजगारी वृद्धि गर्दै उद्योग–व्यवसाय क्षेत्रमा आवश्यक सुधारका पहल २–३ महिनाभित्र देखिने प्रतिबद्धता व्यक्त गरे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक सुधारका यात्रामा निजी क्षेत्रका सुझावलाई आत्मसात गर्ने सरकारको इच्छाशक्ति सकारात्मक रहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे। उद्योग–व्यवसायलाई चलायमान बनाउन नीतिगत स्पष्टता र सहजीकरण सर्वोपरि रहने उल्लेख गर्दै सरकारले हाल ‘फुल अडिट’ स्थगन गरेको निर्णयको स्वागत गरे। उनले यो प्रावधान पूर्ण रूपमा हटाउन पनि आग्रह गर्दै चेम्बर निजी क्षेत्र र सरकारबीच सेतुका रूपमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बाँझो जग्गाको सदुपयोग, बैंक ओभरड्राफ्ट कन्सिलिङ र प्रावधान परिमार्जन, रेमिटेन्स रकमको प्रभावकारी उपयोगजस्ता उपायले आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने बताए।

पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले हाल व्यावसायिक वातावरण चुनौतीपूर्ण रहेको उल्लेख गर्दै राजस्व प्रणालीमा संरचनात्मक सुधारको आवश्यकता औंल्याए। पूर्व अध्यक्ष सुरेश बस्नेतले व्यवसायिक अवस्था तयार पर्नुपर्नेमा जोड दिए ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मल्लहोत्राले घर–जग्गा कारोबार सहज बनाइने हो भने धेरै आर्थिक समस्याहरू समाधान हुने टिप्पणी गरे।

कार्यक्रममा मौद्रिक तथा राजस्व नीति, लगानी वातावरण, निजी क्षेत्रका चुनौती, उद्योग व्यवसाय सुधारका उपाय तथा समसामयिक आर्थिक विषयमा विस्तृत छलफल भएको थियो। संवाद सम्पन्नसँगै दुवै पक्षले आगामी दिनमा नियमित नीतिगत संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष उर्मिला श्रेष्ठसहित अन्य उद्योगी तथा उद्यमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

धेरै पढिएको