लाइसेन्स सूची अब ‘हेल्लो यातायात व्यवस्था विभाग’ नामक फेसबुक पेजमा राखिने
News Desk
Nov-21 , 2025 तारिख 12:43 बेलुका

यातायात व्यवस्था विभागले छपाइ सकिएका र वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण अब सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने भएको छ। विभागले बिहीबार सूचना जारी गर्दै सुरक्षण मुद्रण केन्द्रबाट छपाइ पूरा भई विभागमा आएको लाइसेन्स सूची अब ‘हेल्लो यातायात व्यवस्था विभाग’ नामक फेसबुक पेजमा राखिने जानकारी दिएको हो।

विभागका अनुसार, अघिल्लो प्रणालीमार्फत अनलाइन फारम एप्रुभ भएको ७२ घण्टाभित्र लाइसेन्स लिन आउन सूचना पठाइने चलन जेनजी आन्दोलनका कारण प्रणाली अवरुद्ध भएपछि बन्द भएको थियो। त्यसैले अब छपाइ समाप्त भएर विभागमा उपलब्ध भएको लाइसेन्सको विवरण मात्रै फेसबुकमार्फत सार्वजनिक गरिनेछ।

 

सूचनामा भनिएको छ, “पहिले जस्तै ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने सन्देश अब प्रणाली समस्याका कारण आउँदैन। त्यसका साटो फेसबुक पेजमा नाम सार्वजनिक भएपछि मात्र विभागमा उपस्थित हुनुपर्नेछ।”

 

विभागले फेसबुकमा आफ्नो नाम समावेश भएको हेरेपछि मात्र आवश्यक कागजात लिएर आउन अनुरोध गरेको छ। सेवाग्राहीले आवेदन सक्कल, राजस्व रसिद, र पुरानो सवारी चालक अनुमतिपत् लिएर विभागमा आएपछि नयाँ लाइसेन्स वितरण गरिनेछ।

नयाँ विधि लागू भएपछि सेवाग्राहीलाई आफ्नो लाइसेन्स तयार भएको जानकारी सजिलै पाउने र भीड व्यवस्थापनमा समेत सुधार आउने विभागको अपेक्षा छ।

नेकपा

धेरै पढिएको