बंगलादेशले नेपालबाट​ थप २० मेगावाट  विद्युत​ ख​रिद​ ग​र्ने
News Desk
Nov-28 , 2025 तारिख 12:49 बेलुका

बंगलादेशले नेपालबाट आयात गर्दै आएको ४० मेगावाट विद्युत्‌मा थप २० मेगावाट समावेश गर्ने निर्णय दुवै देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकले गरेको छ। ढाकामा सम्पन्न बैठकले आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी ६० मेगावाट विद्युत् व्यापारलाई अघि बढाउने सहमति जनाएको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए।

नेपाली पक्षका ऊर्जा सचिव चिरञ्जीवी चटौत र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बसेको बैठकले दुई देशबीच ऊर्जा सहकार्य विस्तार गर्ने विभिन्न विषयमा छलफल गर्‍यो। यसअघि बुधवार सम्पन्न संयुक्त कार्यदलको बैठकले गरेका सुझावहरू यस बैठकमा मुख्य एजेन्डा बने।

ऊर्जा मन्त्रालयका सहसचिवसमेत रहेका देवका अनुसार बैठकमा छ प्रमुख विषयमा सहमति जुटाइयो। नवीकरणीय ऊर्जा प्रवर्द्धन, ऊर्जा दक्षता बढाउने, तथा उर्जा परीक्षण एवं विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन जस्ता क्षेत्रमा बंगलादेशले नेपाललाई प्राविधिक सहयोग गर्ने सहमति भएको छ। त्यससँगै दुई देशबीच क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ।

विसं २०८१ असोज १७ गते नेपालबाट बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको थियो, जसअनुसार भारतीय ग्रिडमार्फत बिजुली पठाइँदै आएको छ। नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपीसी विद्युत् निगमबीच त्रिपक्षीय सम्झौताअनुसार प्रतियुनिट ६.४ सेन्टमा विद्युत् बिक्री भइरहेको छ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन, भारतीय प्रसारण प्रणाली तथा बहरामपुर–भेरामारा प्रसारण संरचना हुँदै नेपालमा उत्पादित बिजुली बंगलादेश पुर्‍याइन्छ। सोही संरचनामार्फत पठाइने बिजुलीको मापन मुजफ्फरपुरमै गरिने गरिएको छ।

यसअघि २०८० जेठ २ गते सम्पन्न पाँचौँ बैठकले ४० मेगावाट विद्युत् निर्यातका लागि आधारभूत सहमति गरेको थियो। हाल प्राधिकरणले भारतीय एजेन्सी एनभिभीएनलाई बिजुली उपलब्ध गराइरहेको छ, र उक्त एजेन्सीले भारतीय प्रसारण संरचना प्रयोग गरी बंगलादेशसम्म विद्युत् हस्तान्तरण गरिरहेको छ।

बर्षायामका पाँच महिनामा मात्र विद्युत् निर्यात गर्नेगरी भएको यस सहकार्यलाई विस्तारित गर्दै, अब बंगलादेशले नेपालबाट अझ बढी विद्युत् आयात गर्ने तयारी अघि बढाएको छ। लामो छलफल र गृहकार्यपछि दुवै देश ऊर्जा व्यापार वृद्धि गर्ने साझा निष्कर्षमा पुगेका हुन्।

धेरै पढिएको