News Desk
काठमाडौं, मंसिर १२। नेपाल चेम्बर अफ कमर्स (एनसीसी) ले आफ्नो ७५ औँ हीरक जयन्तीको अवसरमा भोली मंसिर १३ गते शनिवार ‘एनसीसी वाकाथन’ आयोजना गर्न लागेको छ। चेम्बरको हीरक वर्षमा आयोजना भइरहेका विभिन्न कार्यक्रमहरूमध्ये वाकाथन प्रमुख आकर्षणका रूपमा रहेको छ।
शिक्षा तथा खेलकुद समितिको समन्वयमा ‘समयसँगै हिडौँ’ भन्ने नारासहित आयोजना हुने वाकाथन चेम्बर भवन जमलबाट सुरु हुनेछ। बिहान ७ बजे भेला भई सहभागीसहितको जुलुस जमलबाट रानीपोखरी, भोटाहिटी, असन, इन्द्रचोक, मखन, बसन्तपुर हुँदै झोछेमा पुगेर सम्पन्न हुनेछ।
कार्यक्रममा ४ सयभन्दा बढी सहभागिता हुने अपेक्षा गरिएको छ। वाकाथनमा हीरक जयन्ती समारोह समिति, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, सदस्य संस्थाका प्रतिनिधि, चेम्बरका पूर्व पदाधिकारी, प्रतिष्ठित खेलाडी, कलाकार तथा विद्यार्थीहरूको सहभागिता रहने छ।
वि।सं। २००७ मा स्थापना भएको नेपाल चेम्बर अफ कमर्स देशको पहिलो चेम्बर संस्था हो। हीरक वर्षको अवसरमा एनसीसीले विभिन्न विशेष कार्यक्रम गर्दै आएको छ।