News Desk
काठमाडौं, मंसिर १३। नेपाल चेम्बर अफ कमर्स (एनसीसी) ले आफ्नो हीरक जयन्तीको अवसरमा शनिबार ‘एनसीसी वाकाथन’ आयोजना गरेको छ। हीरक वर्षअन्तर्गत संचालित विभिन्न कार्यक्रमहरूमध्ये प्रमुख आकर्षणका रूपमा रहेको वाकाथन कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष तथा हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठले गर्नुभयो।
उक्त वाकाथनमा हीरक जयन्ती समारोह समिति, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, सदस्य संस्थाका प्रतिनिधि, चेम्बरका पूर्वपदाधिकारी, प्रतिष्ठित खेलाडी, कलाकार तथा विद्यार्थी समेत ४ सयभन्दा बढी सहभागी रहेका थिए।

‘समयसँगै हिँडौँ’ भन्ने नारासहित शिक्षा तथा खेलकुद समितिको समन्वयमा आयोजित वाकाथन चेम्बर भवन, जमलबाट सुरु भई रानीपोखरी, भोटाहिटी, असन, इन्द्रचोक, मखन र बसन्तपुर हुँदै झोछेमा पुगेर सभामा परिणत भएको थियो।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष तथा हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रुपक राजवंशीलगायत वक्ताहरूले सम्बोधन गर्दै सहभागिताका लागि सबैप्रति धन्यवाद व्यक्त गरे।
वि।सं। २००७ मा स्थापना भएको नेपाल चेम्बर अफ कमर्स देशको पहिलो चेम्बर संस्था हो। हीरक वर्षको अवसरमा एनसीसीले विभिन्न विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ।



