News Desk
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई सीआईबी टोलीले पक्राउ गरेको छ। उनलाई प्रहरीले काठमाडौंको बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट नियन्त्रणमा लिएको हो।
राष्ट्र बैंकको प्रतिवेदन तथा प्रारम्भिक अनुसन्धानका निष्कर्षका आधारमा बैंकिङ कसुर सम्बन्धी आरोपमा शेरचन विरुद्ध कारबाही अघि बढाइएको सीआईबीले जनाएको छ।
यस्तै, प्रहरीले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल तथा प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई समेत पक्राउ गरेको छ। सीआईबीले जारी गरेको विज्ञप्तिमा उनीहरूले राष्ट्र बैंकका निर्देशन उल्लंघन गर्दै बैंकलाई हानी–नोक्सानी पुर्याएको, साथै अपराध ढाकछोप गर्न विभिन्न कम्पनीको नाममा करोडौँ रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोप लगाइएको छ।
सीआईबीले यसअघि कात्तिक २२ गते प्रभु बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात बरामद गरेको थियो।
यस्तै, ११ कात्तिकमा सीआईबीले प्रभु समूहका अध्यक्ष तथा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पनि पक्राउ गरिसकेको छ। ९८ करोड रुपैयाँ ठगीसम्बन्धी जाहेरी प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दायर गरेपछि यो मुद्दा चुलिएको हो।
यसबीच, घटनाको केन्द्रमा रहेकी भनिएकी रश्मि पन्त हालसम्म सम्पर्कविहीन रहेको स्रोतले जनाएको छ। पन्तसँग सम्बन्धित कागजात तथा भनाइ आवश्यक भएको बताउँदै सीआईबीले उनको खोजी पनि अघि बढाएको छ।
सीआईबीले कर्जा दुरुपयोग, आर्थिक अनियमितता र ठगीसम्बन्धी आरोपमा अनुसन्धान अझै तीव्र पारेको जनाएको छ।