News Desk
नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारद्वारा गठन गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। अर्थ मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई, सञ्चालक कमलेश कुमार अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे।
गत भदौ २३ र २४ गते देशभर भएको जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा व्यापक रूपमा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, राहत तथा आर्थिक पुनरुत्थानका लागि नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उल्लेखित सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष संघईले नेपाल लाइफले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध गतिविधिहरू गर्दै आएको उल्लेख गर्दै, कठिन समयमा राष्ट्रलाई सघाउन पाएकाेमा खुशी व्यक्त गरे। सार्वजनिक संरचनाको पुनर्निर्माण देश विकासका लागि अनिवार्य रहेको भन्दै, आगामी दिनमा पनि यस्ता सहयोगात्मक पहललाई निरन्तरता दिन कम्पनी प्रतिबद्ध रहेको उनले बताए।
अर्थमन्त्री खनालले नेपाल लाइफको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै, निजी क्षेत्रबाट प्राप्त यस्ता योगदानले पूर्वाधार पुनर्निर्माण तथा समग्र विकासलाई बल पुग्ने विश्वास व्यक्त गरे। सरकार सञ्चालनमा ल्याउने आर्थिक, सामाजिक तथा भौतिक रूपान्तरणका कार्यक्रमहरूमा संस्थागत सहकार्य बढ्दै जाँदा दीर्घकालीन प्रभाव देखिने उनको भनाइ थियो।