News Desk
पातारासी गाउँपालिका १, गडिगाउँस्थित चुकेनी खोलाबाट उत्पादन हुने करिब एक मेगावाट विद्युत्ले अहिले जुम्लालाई उज्यालोको नयाँ पहिचान दिएको छ। साढे ७ हजारभन्दा धेरै घरधुरीमा नियमित रूपमा बिजुली पुगेपछि लामो समयसम्म लोडसेडिङ झेल्दै आएको जिल्लाले अहिले स्थायी र भरपर्दो प्रकाश पाएको छ। कहिल्यै १८ घन्टा अन्धकार सहनुपरेको जुम्लामा अहिले एक घन्टासमेत बत्ती जाने अवस्था छैन। दशकअघिसम्म सल्लाको दियालो, टुकी र मैनबत्तीमा आश्रित दैनिकी आज आधुनिक उज्यालोले प्रतिस्थापन गरिसकेको छ।
पहिले आर्थिक हैसियत हुनेले मात्रै सौर्य ऊर्जामा भर पर्थे, तर धेरैलाई दियालो नै सहारा थियो। तर, एक वर्षयता चुकेनी जलविद्युत् आयोजनाले नियमित उत्पादन थालेपछि परिस्थितिमा क्रान्तिकारी परिवर्तन आएको छ। आयोजनाले बिजुली आपूर्ति मात्र होइन, बिक्रीमार्फत लाखौँ रुपैयाँ आम्दानी समेत गरिरहेको छ।
सदरमुकाम खलंगादेखि डेढ घन्टाको सडक यात्रापछि पुगिने चुकेनी खोलामा बनेको आयोजना ९९८ किलोवाट क्षमता रहेको छ। चुकेनी सहकारी संस्थाद्वारा सञ्चालित यो आयोजनाले महिना अनुसार ७ लाखदेखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छ। हिउँदमा खपत उच्च रहने भएकाले बजार, गाउँ, स्वास्थ्यचौकी, विद्यालयदेखि होटल तथा साना उद्योगसम्म सबै क्षेत्रमा बिजुली सहज उपलब्ध भएको छ।
हाल पातारासी लासी, तल्फी, चौर, उर्थु र खलंगा क्षेत्रमा गुणस्तरीय विद्युत् आपूर्ति भइरहेको छ। पातारासीका ३ हजार ३ सय नागरिकको सेयर लगानी रहेको यस आयोजनाले २०८१ वैशाख १८ गते नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौता गरेपछि औपचारिक रूपमा विद्युत् वितरण सुरू गरेको हो।
कुल लागत ४५ करोड २८ लाख रुपैयाँ रहेको आयोजना हाल विद्युत् प्राधिकरणको जुम्ला वितरण केन्द्रमार्फत ७ हजार ५ घरधुरीमा विद्युत् पुर्याइरहेको छ। बिजुली उपलब्ध भएपछि पातारासी क्षेत्रमा लिफ्ट सिचाइदेखि उद्योग व्यवसायसम्म सबै क्षेत्रमा गतिविधि सहज र सक्रिय बनेका छन्।