नेपाल वायुसेवा निगमको महाप्रवन्धक पदका लागि कुल १६ जनाले दिए आवेदन
News Desk
Dec-04 , 2025 तारिख 12:49 बेलुका

 नेपाल वायुसेवा निगमको महाप्रवन्धक पदका लागि कुल १६ जनाले आवेदन दिएका छन्। निगमका अनुसार आवेदनकर्तामध्ये हवाई क्षेत्रका अनुभवी व्यक्तिदेखि हालसालै देखिएका नयाँ अनुहारसम्म छन्। पूर्व नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, निगममै कार्यरत उच्च तहका कर्मचारी, इन्जिनियर तथा उड्डयन विज्ञहरू समेत प्रतिस्पर्धामा छन्।

आवेदन दिने प्रमुख नामहरूमा निगमका मार्केटिङ निर्देशक टंकनिधि दाहाल, हवाई क्षेत्रका विज्ञ योगराज शर्मा कँडेल, नेपाल आर्मीको हवाई उडान विभागमा काम गरिसकेका डा. दीपकप्रकाश बास्तोला, भिमबहादुर चन्द, पूर्व कर्मचारी चिरञ्जीवि उपाध्याय पनि रहेका छन्।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फ्लाइट अपरेसन म्यानेजर सन्तुष्ट कुमार बस्नेत, उड्डयन प्राधिकरणका पूर्व कर्मचारी रघुनाथ विडारी, हवाई व्यवस्थापन क्षेत्रका आशिष थापा, इन्जिनियर अभिनव कार्की, क्याप्टेन वेदप्रसाद उप्रेती, क्यानका पूर्व कर्मचारी विष्णुबाबु मिश्रसहित अन्य आवेदकहरूले पनि प्रतिस्पर्धामा नाम लेखाएका छन्।

खाली पद पूर्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बनेको छनोट समितिले १५ दिने सूचनामार्फत आवेदन आह्वान गरेको थियो। अब समितिले तोकिएका मापदण्ड पूरा गर्ने उमेदवारलाई छान्दै सर्टलिस्ट बनाउनेछ।

सर्टलिस्ट भएकाहरूको कार्यपत्र प्रस्तुति र अन्तरवार्ता सम्पन्न गरेपछि समितिले सर्वोत्कृष्ट तीनजनाको नाम सिफारिस गर्नेछ। सरकारबाट त्यसमध्ये एक जनालाई आगामी चार वर्षका लागि नेपाल वायुसेवा निगमको महाप्रवन्धक (कार्यकारी प्रमुख) मा नियुक्त गरिनेछ।

धेरै पढिएको