ठूलो संख्यामा उडान रद्द तथा ढिलाइ भएपछि यात्रुहरूलाई पैसा फिर्ता दिन​ ईन्डिगो माथि द​बाव​
News Desk
Dec-07 , 2025 तारिख 12:05 बेलुका

भारत स​र​कार​ले इन्डिगोलाई बाँकी सबै रकम तुरुन्त फिर्ता गर्न निर्देशन, नियम नमानिए कडा कारबाहीको चेतावनी

भारतको नागरिक उड्डयन मन्त्रालयले पछिल्ला दिनहरूमा ठूलो संख्यामा उडान रद्द तथा ढिलाइ भएपछि यात्रुहरू परेका असुविधाप्रति चासो व्यक्त गर्दै इन्डिगो एयरलाइन्सलाई कडा निर्देशन जारी गरेको छ। मन्त्रालयले सबै रद्द वा प्रभावित उडानका भाडा फिर्ता प्रक्रिया डिसेम्बर ७, २०२५ आइतबार राति ८ः०० बजेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न आदेश दिएको हो।

साथै, मन्त्रालयले भविष्यमा उडान रद्द वा पुनः तालिका मिलाउनुपर्ने अवस्था आएमा यात्रुहरूबाट कुनै पनि ‘रेस्छेदुलिङ फेए’ वा अतिरिक्त शुल्क लिन निषेध गरिएको स्पष्ट पारेको छ। यात्रुको योजना प्रभावित हुँदा एयरलाइन्सले थप आर्थिक भार थोपर्नु अनुचित भएको मन्त्रालयको भनाइ छ।

यात्री पैसा फिर्ता प्रक्रियामा ढिलाइ या नियम नमानिए एयरलाइन्सविरुद्ध तुरुन्त प्रशासनिक र कानुनी कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ। यसले यात्रु अधिकार संरक्षणमा सरकार कडा भूमिकामा रहेको संकेत गर्दछ।

इन्डिगो एयरलाइन्सले शुक्रबार राति सामाजिक सञ्जाल एक्समार्फत माफी माग्दै जारी गरेको विज्ञप्तिमा प्राविधिक तथा सञ्चालन पक्षका चुनौतीका कारण उडानहरू प्रभावित भएको व्याख्या गरिएको थियो। एयरलाइन्सले रद्द भएका सबै टिकट रकम शीघ्र फिर्ता गरिने आश्वासन समेत दिएको छ।

हाल भारतभर हजारौँ यात्रु उडान रद्द तथा लामो ढिलाइका कारण रोकिएका, वैकल्पिक उडानका खोजीमा परेका वा आफ्नो टिकट रकम फिर्ताको प्रतीक्षामा रहेका छन। विशेषज्ञका अनुसार यस्तो स्थिति दोहोरिन नदिन एयरलाइन्सहरूको सञ्चालन क्षमता, मर्मत तालिका र जनशक्ति व्यवस्थापनमा सुधार आवश्यक देखिन्छ।

 

धेरै पढिएको