News Desk
काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (एनआईसीसी) को आयोजनामा “काठमाडौँ महोत्सव २०८२” आगामी माघ १४ देखि १७ गतेसम्म काठमाडौँको ऐतिहासिक स्थल भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ। महोत्सवलाई भव्य, व्यवस्थित र आकर्षक रूपमा सम्पन्न गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।
काठमाडौँ उपत्यकालाई नेपालको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा अझ सशक्त रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस महोत्सवमार्फत स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यवसाय र नवप्रवर्तनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने लक्ष्य लीएको छ। साथै, उद्यमशीलता, स्टार्टअप, घरेलु तथा साना उद्योगलाई बजार, अवसर र दृश्यता प्रदान गर्ने मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।
महोत्सवमा करिब २०० अत्याधुनिक तथा व्यवस्थित व्यवसायिक स्टलहरू रहनेछन। स्टलहरूमा स्थानीय उत्पादन तथा सेवाको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विविध प्रस्तुतिहरू, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविरलगायत आकर्षक गतिविधिहरू समावेश गरिनेछ। महोत्सवमा १ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।
यस महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसर सिर्जना, काठमाडौँ उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचान सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा र सञ्जाल प्रदान गर्ने, रोजगारी सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लीएको छ।
प्रदर्शकहरूको सहभागिता स्वदेशी औद्योगिक उत्पादन, कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन तथा मेसिनरी, फर्निचर, फूड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल एण्ड टुर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था तथा जिल्लागत विशेष उत्पादनजस्ता विविध क्षेत्रबाट रहनेछ।
महोत्सव अवलोकनकर्तामा सर्वसाधारण, उद्यमी, व्यवसायी, युवा–उद्यमी, विद्यार्थी, स्टार्टअप, पर्यटक, फुड–लभर्स, अन्तर्राष्ट्रिय पाहुना, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।
महोत्सवको सफलता र व्यापक पहुँच सुनिश्चित गर्न विभिन्न प्रायोजन प्याकेजहरू समेत खुला गरिएको छ। सहभागी संस्थाहरूलाई मिडिया प्रमोशन, डिजिटल क्याम्पेन, टिभी, रेडियो तथा प्रिन्ट विज्ञापन, बाहिरी होर्डिङ, ब्यानर, ग्राउन्ड एक्टिभेशनलगायत विस्तृत प्रचार–प्रसार सुविधाहरू प्रदान गरिने संघले जनाएको छ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले महोत्सवसम्बन्धी समाचार, सामग्री तथा सूचनाहरूलाई सञ्चारमाध्यममा प्राथमिकतासाथ प्रकाशन तथा प्रसारण गरिदिन सबै मिडिया प्रतिनिधिहरूसमक्ष अनुरोध गरेको छ।