News Desk
वाशिंगटन डी.सी । संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावासले अनौपचारिक माध्यमबाट हुने विप्रेषण कारोबार (हुण्डी) निरुत्साहन गर्न सहयोग गर्न सम्पूर्ण नेपाली समुदायसँग आग्रह गरेको छ।
राजदूतावासले जारी गरेको जरुरी सूचनामा अनौपचारिक च्यानल वा माध्यम प्रयोग गरी गरिने विप्रेषण कारोबार गैरकानूनी रहेको स्पष्ट पारिएको छ। यस्ता गतिविधिले सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी हुन सक्ने जोखिम बढ्ने उल्लेख गर्दै, हुण्डी कारोबार रोक्नु नेपाल सरकारको अन्तर्राष्ट्रिय दायित्व रहेको जनाइएको छ।
सूचनामा भनिएको छ, अनौपचारिक विप्रेषण कारोबारका कारण मुलुकमा वैदेशिक मुद्राको अभाव सिर्जना हुने, सोधनान्तर भुक्तानी क्षमतामा ह्रास आउने तथा अन्तर्राष्ट्रिय निकाय र समुदायको निगरानीमा पर्न गई समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने खतरा रहन्छ।
यसैकारण संयुक्त राज्य अमेरिका, मेक्सिको, कोस्टारिका, पानामा, एल साल्भाडोर, होन्डुरस, ग्वाटेमाला, बहमास र बेलिजमा रहेका नेपाली व्यक्ति तथा संस्थालाई नेपालमा रकम पठाउँदा वा नेपालबाट रकम ल्याउँदा अनिवार्य रूपमा बैंकिङ च्यानल प्रयोग गर्न अनुरोध गरिएको छ।
राजदूतावासले कुनै व्यक्ति वा संस्थाले अनौपचारिक माध्यम प्रयोग गरी हुण्डी कारोबार गरेको जानकारी भएमा त्यसको विवरण [email protected] इमेल ठेगानामा पठाई सहयोग गर्न पनि आग्रह गरेको छ। यस्तो सूचना उपलब्ध गराउने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिने जनाइएको छ।
नेपाली राजदूतावास, वाशिंगटन डी.सी. ले मिति २०८२/०९/०२ मा जारी गरेको यस सूचनामार्फत हुण्डी कारोबार निरुत्साहन गरी वैध र सुरक्षित बैंकिङ प्रणालीमार्फत विप्रेषण कारोबार गर्न सबैलाई सचेत गराएको छ।