News Desk
मोरङ । मोरङको बेताना सिमसारमा नेपाल डेरी एसोसिएशन कोशी प्रदेशको सातौँ वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल डेरी एसोसिएशनका महासचिव हेमचन्द्र खनाल, विशिष्ट अतिथिका रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्पराज राई तथा अतिथिमा नेपाल डेरी एसोसिएशन केन्द्रको तर्फबाट मनोज यादव र योगेन्द्र चिमरियाको उपस्थिति रहेको थियो । साधारण सभामा विभिन्न क्षेत्रबाट सम्मान प्रदान गरिएको थियो, जसमा चिज विधातर्फ तुलु थिङ्गकामी तामाङ ( लक्की डेरी उद्योग ), महिला उद्यमीतर्फ डम्बर कुमारी गौतम ( जलथल डेरी उद्योग ) र छुर्पी उत्पादनतर्फ सुजन श्रेष्ठ ( सेविका डेरी उद्योग ) सम्मानित भएको प्रदेश अध्यक्ष गंगा खड्काले जानकारी गराए ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने नेपाल डेरी एसोसिएशनका प्रदेश समिति, जिल्ला समिति तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ दिनु हुने सम्पूर्ण साथीहरूप्रति आयोजकको तर्फबाट प्रदेश अध्यक्ष गंगा खड्काले उपस्थित सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए । प्रमुख अतिथि नेपाल डेरी एसोसिएशनका केन्द्रिय महासचिव हेमचन्द्र खनालले साधारण सभाले कोशी प्रदेशको दुग्ध क्षेत्रको सुदृढीकरण र सहकार्यलाई थप बल पुग्ने विश्वास लिइएको बताए । करिब १ सय जनाको सहभागिता रहेको उक्त कार्यक्रममा दुग्ध क्षेत्रसँग आबद्ध उद्यमीहरु, प्रतिनिधिहरु तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रम सञ्चालन कोशी प्रदेशका उपाध्यक्ष गुरु प्रसाद दाहालले गरेका थिए ।
