News Desk
मुस्ताङस्थित नेपाल-चीन सीमा जोड्ने कोरला नाकासम्म पुग्ने मार्गअन्तर्गत माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका २, घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ। कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत निर्माण भइरहेको उक्त पुलको भौतिक प्रगति करिब ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ।
कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लम्बाइ रहेको घमी खोला पुल निर्माणका लागि २०७५ साल पुस १९ गते ठेक्का सम्झौता भएको थियो। पुल निर्माणको जिम्मा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभीले करिब ६ करोड ८० लाख रुपैयाँ लागतमा लिएको थियो।
गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार सडक खण्ड तयार भइसके पनि पुल नबन्दा लामो समयदेखि सवारी आवागमनमा समस्या हुँदै आएको थियो। पुल निर्माण सम्पन्न भएपछि माथिल्लो मुस्ताङमा सवारी सञ्चालन सहज हुने उहाँले बताउनुभयो। सम्झौताअनुसार पुल २०७८ पुस ९ गतेभित्र सम्पन्न हुनुपर्ने थियो।
निर्माण कम्पनीले प्रतिकूल मौसम, हिमपातलगायत कारण देखाउँदै लामो समयसम्म काम अघि नबढाएपछि आयोजना पक्षले पटक–पटक ताकेता गरेको थियो। त्यसपछि पनि कम्पनी कार्यस्थलमा नफर्किएपछि छ महिनाको अल्टिमेटम दिँदै लागतको ०।०५ प्रतिशत दैनिक जरिवाना लाग्ने गरी हर्जाना तोकिएको थियो।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत कोरला नाका जोड्ने सडकमा हालसम्म १४ वटा पुल सम्पन्न भइसकेका छन। माथिल्लो मुस्ताङको घमी खोला पुल पनि चालु आर्थिक वर्षमै सम्पन्न हुने उहाँले जानकारी दिनुभयो।