News Desk
काभ्रेपलाञ्चोक – जिल्लामा कृषि र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालनको तयारी गरिएको छ। विभिन्न निकाय तथा सङ्घ–संस्थाको सहकार्यमा यसपटक कार्यक्रमलाई परीक्षण तथा प्रवर्द्धनात्मक रूपमा अघि बढाइने जनाइएको छ।
होटल एसोसिएसन अफ नेपाल (हान) काभ्रेपलाञ्चोक च्याप्टरको आयोजनामा तथा धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च, रोटरी क्लब अफ धुलिखेललगायत संस्थाले सहकार्य गर्नेछन।
यसअघि करिब १५ वर्षअघि पनि जिल्लामा ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गरिएको थियो। केही समयपछि सुस्ताएको उक्त कार्यक्रमलाई पुनः सक्रिय बनाउन लागिएको हान काभ्रेपलाञ्चोक च्याप्टरका अध्यक्ष प्रह्लाद प्याकुरेलले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाको कृषि उत्पादन र पर्यटन क्षेत्रलाई आपसमा जोड्ने लक्ष्यसहित डेढ दशकपछि उक्त कार्यक्रम पुनः सञ्चालनमा ल्याउन लागिएको हो।
सन २०१० को नोभेम्बरमा नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशीला (नेटिफ) ले नेपाल पर्यटन बोर्डको सहयोगमा नमोबुद्ध–बल्थली ‘सुन्तला–हाइकिङ’ आयोजना गरेको थियो। यसपटक भने हान काभ्रेपलाञ्चोक च्याप्टरको पाँच वर्षपछि सम्पन्न अधिवेशनसँगै कार्यक्रमलाई नयाँ स्वरूपमा पुनर्जीवित गरिएको जनाइएको छ। जिल्लामा सुन्तलाखेतीको राम्रो सम्भावना रहेकाले यसै सिजनलाई लक्षित गर्दै कार्यक्रम पुनः सुरु गरिएको धुलिखेलस्थित होटल सारथीका प्रबन्ध निर्देशकसमेत रहनुभएका प्याकुरेलले बताउनुभयो। उहाँका अनुसार क्रिसमसको अवसर पारेर बिहीबार औपचारिक रूपमा कार्यक्रम शुभारम्भ गरिनेछ।
कार्यक्रमअन्तर्गत पदयात्राको मुख्य मार्ग नमोबुद्धदेखि बल्थलीसम्म तय गरिएको छ। पदयात्रीहरूले सुन्तलाले पहेँलिएको बगैँचाको अवलोकन गर्दै यात्रा गर्न सक्नेछन भने स्थानीय बगैँचाबाटै ताजा सुन्तलाको स्वादसमेत लिन पाउनेछन।
पदयात्राका क्रममा नमोबुद्धको धार्मिक वातावरण र बल्थलीको प्राकृतिक सौन्दर्यको अनुभव लिन सकिनेछ। साथै बल्थलीस्थित लड्केश्वर महादेवस्थान परिसरमा निर्माणाधीन विश्वकै अग्लो त्रिशूललगायत धार्मिक तथा पर्यटकीय पूर्वाधारको अवलोकनसमेत गर्न पाइने जनाइएको छ। क्रिसमसको सार्वजनिक बिदा भएकाले कार्यक्रममा पर्यटन व्यवसायी, उद्योगी, जनप्रतिनिधि, सञ्चारकर्मी, कन्टेन्ट क्रियटर, सुरक्षा निकायका प्रमुख, ट्राभल एजेन्सी तथा कृषिसम्बद्ध निकायका पदाधिकारी गरी १०० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ।
यस वर्षको प्रवर्द्धनात्मक ‘सुन्तला–हाइकिङ’ कार्यक्रमबाट प्राप्त अनुभवका आधारमा आगामी वर्षदेखि सुन्तलाको मुख्य सिजन (नोभेम्बर–डिसेम्बर) मा एक महिनासम्म सञ्चालन हुने ट्राभल प्याकेज विकास गर्ने लक्ष्य हानले लिएको छ। प्याकेजअन्तर्गत होटल तथा रिसोर्टमा विशेष छुटसहित थप आकर्षण समावेश गरिनेछ। आगामी वर्षदेखि सुन्तला सिजनमा कम्तीमा एक हजार पर्यटक काभ्रेपलाञ्चोक भित्र्याउने लक्ष्यसहित व्यवस्थापनको तयारी गरिने जनाइएको छ। यसबाट स्थानीय होटल, रिसोर्ट, होमस्टे तथा कृषकहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। हाल जिल्लामा रहेका करिब डेढ सय होटलमध्ये ३२ वटा स्तरीय होटल तथा रिसोर्ट हानमा आबद्ध छन।
यसैबीच जिल्ला कृषि विकास कार्यालयले यस वर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म वृद्धि हुन सक्ने प्रक्षेपण गरेको छ। गत वर्ष भने बाढीपहिरोका कारण सुन्तला उत्पादन करिब सात प्रतिशतले घटेको थियो। कार्यालय प्रमुख कुलप्रसाद दवाडीका अनुसार हाल सुन्तला पकेट क्षेत्रहरूमा उत्पादनसम्बन्धी तथ्याङ्क संकलन भइरहेको छ र प्रारम्भिक विवरणका आधारमा यस वर्ष उत्पादन बढ्ने देखिएको छ।
कार्यालयका अनुसार विसं २०८१ मा जिल्लामा ७ हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन हुने अनुमान गरिए पनि प्राकृतिक विपत्तिका कारण बगैँचामा क्षति पुग्दा उत्पादन करिब ५०० मेट्रिकटनले घटेको थियो। जिल्लाको करिब १ हजार ३०० हेक्टर अर्थात झण्डै ३० हजार रोपनी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। यस वर्ष भने जिल्लामा करिब ८ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ।