नेपाल डेरी एसोसिएसन सुदूरपश्चिमको छैटौँ वार्षिक साधारण सभा पौष १९ गते धनगढीमा
News Desk
Dec-27 , 2025 तारिख 01:08 बेलुका

काठमाडौं । नेपाल डेरी एसोसिएसन अन्तर्गत सुदूरपश्चिम प्रदेशको छैटौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन आगामी पौष १९ गते धनगढी, कैलालीमा सम्पन्न हुने भएको छ।

साधारण सभाको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास समितिका सभापति  तथा प्रदेश सभा सदस्य धर्मराज पाठक रहने छन्। यस्तै, विशेष अतिथिमा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको उपस्थिति रहने जानकारी प्रदेश उपाध्यक्ष राम कुवरले जानकारी गराए। 

नेपाल डेरी एसोसिएसनको केन्द्रीय महाधिवेशन आगामी माघ ६ र ७ गते काठमाडौंमा आयोजना हुने कार्यक्रम रहेको छ। सो महाधिवेशनअघि नै सातै प्रदेशका वार्षिक साधारण सभा सम्पन्न गर्न केन्द्रले निर्देशन जारी गरेको र सोहीअनुसार प्रदेशस्तरमा सभाहरू सञ्चालन भइरहेको केन्द्रीय उपाध्यक्ष कर्ण हमालले जानकारी गराए।

केन्द्रीय महासचिव हेमचन्द्र खनालका अनुसार हालसम्म कोशी र कर्णाली प्रदेशले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरिसकेका छन्। लुम्बिनी प्रदेशले पुस १३ गते, बागमती प्रदेशले पुस १८ गते र सुदूरपश्चिम प्रदेशले पौष १९ गते साधारण सभा सम्पन्न गर्ने कार्यक्रम तय भएको छ। बाँकी प्रदेशहरूमा पनि छिट्टै साधारण सभा सम्पन्न हुने उनले बताए।

सुदूरपश्चिम प्रदेशका अध्यक्ष भुपेन्द्र थापाका अनुसार हाल प्रदेशमा ४० भन्दा बढी सक्रिय सदस्य रहेका छन्। उनले साधारण सभा अगावै सबै सदस्यहरूको नवीकरण प्रक्रिया सम्पन्न गरिने र हरेक वर्षझैं यस वर्ष पनि केन्द्रीय निर्देशनको पूर्ण पालना गरिने स्पष्ट पारे।

साधारण सभामा सुदूरपश्चिमका दार्चुला, डोटी, बाजुरा, बजाङ, बैतडी, डडेल्धुरासम्मका सदस्य तथा प्रतिनिधिहरूको सहभागिता रहने जानकारी प्रदेशका सचिव हर्क चन्दले दिए। 

नेपाल डेरी एसोसिएसनले प्रदेश समिती गठन गरी आफ्ना गतिविधि अगाडि बढाउँदा यो क्षेत्रमा दुग्ध क्षेत्रमा धेरै विकास हुँदै गएको कुरा प्रदेश समितीका सदस्य गणेश विष्टले बताए ।

धेरै पढिएको