News Desk
सञ्चार क्षेत्रबाट आफ्नो पेशागत यात्रा सुरु गर्नुभएकी कर्माचार्य सानै उमेरदेखि मेहनती, जिज्ञासु र लक्ष्यप्रति प्रतिबद्ध व्यक्तित्वका रूपमा अगाडि बढ्दै आउनुभएको हो। पोखरास्थित माछापुच्छ्रे एफएममा लामो समय काम गर्दै सञ्चार क्षेत्रको गहिरो अनुभव हासिल गर्नुभएकी उहाँले यही अनुभवलाई पछिल्ला वर्षहरूमा व्यवसाय र संस्थागत नेतृत्वमा सफलतापूर्वक प्रयोग गर्दै आउनुभएको छ।
हाल चितवन उद्योग वाणिज्य संघको ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशनअन्तर्गत पुस २१ गते हुने निर्वाचनमा उहाँले २०८२–०८४ कार्यकालका लागि महिला उद्यमी तर्फ (क्र.सं. २) कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। विगत चार वर्षदेखि संघमा आबद्ध रहँदै सक्रिय भूमिका निर्वाह गरिरहनुभएकी कर्माचार्य इमानदार, कर्तव्यनिष्ठ र उत्तरदायी नेतृत्वको परिचायकका रूपमा चिनिनुहुन्छ।
व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय उहाँले उद्योगी–व्यवसायीका हकहित, अधिकार संरक्षण र संस्थागत सुधारका लागि निरन्तर आवाज उठाउँदै आउनुभएको छ। देशको वर्तमान आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले कोरोना महामारीपछिको आर्थिक सुस्तता र पछिल्ला आन्दोलनहरूले अर्थतन्त्रमा गहिरो प्रभाव पारेको बताउनुभएको छ। यस्तो अवस्थामा राज्यले व्यावहारिक, दीर्घकालीन र नीतिगत सुधारमा आधारित आर्थिक योजना अवलम्बन गर्नुपर्ने उहाँको धारणा छ। अन्तरिम सरकारले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
२१औँ शताब्दीमा पनि महिलाहरू अझै घरेलु सीमाभित्र सीमित हुनुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कर्माचार्यले नेतृत्वमा पुगेपछि महिलामैत्री नीति र कार्यक्रमलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। आर्थिक संकटका कारण धेरै महिला उद्यमी व्यवसायबाट बाहिरिन बाध्य भएको यथार्थ उहाँले औँल्याउनुभएको छ।
साना, मझौला तथा ठूला उद्योग–व्यवसायमा महिलाको समान सहभागिता सुनिश्चित हुन नसकेको, आर्थिक मन्दीका कारण व्यवसायी विदेशिन बाध्य भइरहेको र सटर भाडा तिर्नसमेत कठिन अवस्था सिर्जना भएको उहाँको भनाइ छ। यी समस्याको समाधानका लागि सशक्त आवाज बन्ने उद्देश्यले आफू उम्मेदवार बनेको उहाँले स्पष्ट पार्नुभएको छ।
हाल कर्माचार्य चितवन र नवलपुर क्षेत्रमा अटोमोबाइल व्यवसाय अन्तर्गत नयाँ मोटरसाइकल र गाडीको बिक्रीवितरण, हस्पिटालिटी क्षेत्रअन्तर्गत होटल सञ्चालन तथा औषधि व्यवसायलगायत विभिन्न क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँ नबिन अटो सेन्टरकी प्रोप्राइटर, नबिन अटो केयर प्रा.लि., सिद्धार्थ अटो वर्कस, एडभेन्चर ट्रेडर्स प्रा.लि. तथा कर्माचार्य इन्टरप्राइजेज प्रा.लि. की निर्देशक हुनुहुन्छ। साथै, चितवन र नवलपुरका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता पनि उहाँ नै हुनुहुन्छ।
संघीय तहमा उहाँ जनसम्पर्क, ख्याति अभिवृद्धि तथा संस्थागत सामाजिक उत्तरदायित्व समिति (२०७८–२०८०) की संयोजक तथा चितवन महोत्सव २०७५ मञ्च व्यवस्थापन समिति संयोजकको जिम्मेवारी सम्हालिसक्नुभएको छ। संस्थागत रूपमा उहाँ लायन्स क्लब अफ नारायणगढ संगमचोक संजिवनीकी संस्थापक अध्यक्ष, नारायणगढ लेडी जेसिजकी पूर्व अध्यक्ष तथा चितवन अटोमोबाइल सहकारी संस्था लि. की कार्यसमिति सदस्य रहनुभएको छ। साथै, विभिन्न सामाजिक तथा व्यवसायिक संस्थामा आबद्ध रहँदै आजीवन रेडक्रस सदस्यसमेत हुनुहुन्छ।
२०६३ सालदेखि प्रत्यक्ष व्यवसायमा संलग्न कर्माचार्यले फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड, बेल्जियम, दुबई, सिंगापुर, मलेसिया र भारतलगायत देशहरूको भ्रमण गरी अन्तर्राष्ट्रिय अनुभवसमेत आर्जन गर्नुभएको छ।
महिला अधिकारको प्रभावकारी कार्यान्वयन, व्यवसायीका हकहित संरक्षण तथा दिगो आर्थिक योजनामार्फत व्यवसायिक क्षेत्र सशक्त बनाउने स्पष्ट दृष्टिकोण, आत्मविश्वास र क्षमतासहित सुनिता लिगल कर्माचार्य अघि बढिरहनुभएको छ। शालीन, सरल र कर्मशील स्वभावकी उहाँले महिला नेतृत्वलाई मजबुत बनाउने र समग्र व्यवसायिक वातावरण सुधारका लागि एकपटक अवसर दिन सबै उद्योगी–व्यवसायी तथा मतदातासमक्ष हार्दिक अपिल गर्नुभएको छ।