बागलुङ महोत्सवबाट करिब आठ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार
News Desk
Jan-07 तारिख 11:47 बिहान

उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजनामा सम्पन्न बागलुङ महोत्सवबाट करिब आठ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। सङ्घका अनुसार महोत्सव अवधिभर झन्डै चार लाख दर्शकले अवलोकन गरेका थिए।

बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा पुस ११ गतेदेखि सुरु भएको महोत्सव पुस २२ गतेसम्म सञ्चालन गरिएको थियो। महोत्सवमा विभिन्न व्यवसायिक स्टलसँगै स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिँदै ‘मेड इन बागलुङ’ नामकरण गरी बागलुङमै उत्पादन भएका सामग्रीको प्रदर्शन तथा बिक्रीलाई मुख्य आकर्षण बनाइएको थियो।

स्थानीय उत्पादनतर्फ निसीखोलामा उत्पादन हुने भेंडाको ऊनबाट बनेका काम्ला, अल्लोका कपडा, गुन्द्रुक, भाँगो, मकै र कोदोको पिठो, सिस्नोको धुलो, भुटेको मकै, टिमुर, सिल्टिमुर, आलु, सुन्तला, किवी लगायतका वस्तुले उल्लेखनीय बजार पाएको आयोजकले जनाएको छ।

महोत्सवस्थलमा अटोमोबाइल, होटल तथा रेष्टुरेन्टदेखि विभिन्न प्रकारका व्यापारिक स्टलहरू राखिएका थिए। स्टलमार्फत पनि राम्रो कारोबार भएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो।

व्यापारिक गतिविधिसँगै महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समेटिएका थिए। यसअन्तर्गत गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, महिलाहरूका लागि लठ्ठो तान्ने, घैटो फोर, भाले छुनेजस्ता विविध खेल तथा प्रतियोगिता सञ्चालन गरिएको थियो।

महोत्सवबाट संकलित रकमको केही हिस्सा सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा आश्रम बागलुङलाई पाँच लाख ११ हजार १११ रुपैयाँ तथा नेपाल पत्रकार महासङ्घ बागलुङ शाखालाई एक लाख रुपैयाँ सहयोग प्रदान गरिएको सङ्घका निवर्तमान अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो। बाँकी रकम व्यवसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, खेलकुद तथा स्वास्थ्य कोष, अक्षयकोष निर्माण र कोशेली घर सञ्चालनमा खर्च गरिने जनाइएको छ।

धेरै पढिएको