सुरक्षण मुद्रण केन्द्रबाट दुई महिनामा करिब ९ हजार स्मार्ट लाइसेन्स छपाइ
News Desk
Jan-09 तारिख 12:42 बेलुका

काभ्रेपलाञ्चोक : पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रबाट पछिल्ला दुई महिनामा क्यूआर कोडसहितका करिब नौ हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छापिएका छन्। गत कात्तिक २१ गतेदेखि लाइसेन्स छपाइ सुरु भएयता हालसम्म आठ हजार ९८३ थान लाइसेन्स उत्पादन भइसकेको यातायात व्यवस्था विभागले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा विभागको ‘मास प्रिन्टर’ तोडफोड भएपछि रोकिएको लाइसेन्स छपाइ अब सुरक्षण मुद्रण केन्द्रमार्फत अघि बढाइएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कात्तिक २१ गते केन्द्रमा रहेको प्रिन्टिङ प्रेस सञ्चालन गर्दै लाइसेन्स छपाइको औपचारिक सुरुआत गर्नुभएको थियो। यसअघि कात्तिक १२ गते केन्द्र र विभागबीच छ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो।

यातायात व्यवस्था विभागका आइटी निर्देशक केशव खतिवडाका अनुसार दुई महिनाको अवधिमा आठ हजार ९८३ लाइसेन्स छापिएका छन्। विभागले केन्द्रलाई कुल १२ लाख लाइसेन्स छाप्ने जिम्मेवारी दिइसकेको र हाल नयाँ ट्रायल पास भएका तथा नवीकरणका लागि आवेदन दिएका गरी करिब ३० लाख लाइसेन्स अझै प्रिन्ट हुन बाँकी रहेको उहाँले बताउनुभयो। “अहिलेसम्म अत्यावश्यक लाइसेन्स मात्र छापिएका छन्, छापिएका करिब नौ हजारमध्ये सात हजार लाइसेन्स वितरण भइसकेका छन्,” खतिवडाले भन्नुभयो।

विभागले अब साधारण लाइसेन्स छपाइलाई तीव्रता दिने तयारी गरेको जनाएको छ। एकैपटक करिब एक लाख डाटा केन्द्रमा पठाउने तयारी भइरहेको छ। केन्द्रले सम्झौताअनुसार बाँकी ११ लाख ९१ हजार स्मार्ट कार्ड आगामी दुई महिनाभित्र छापिसक्ने लक्ष्य लिएको छ। हालसम्म कामको गति केही सुस्त देखिए पनि माघ महिनादेखि उल्लेख्य प्रगति हुने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बताउनुभयो।

उहाँका अनुसार प्रारम्भिक चरण परीक्षणकाल भएकाले सीमित संख्यामा मात्र लाइसेन्स छापिएका हुन्। अब नयाँ जनशक्ति थप गरी कामलाई तीव्र बनाइने र माघदेखि दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने आन्तरिक तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

सुरुआती दुई सातामै केन्द्रमा पहिलोपटक छापिएका ५२० थान लाइसेन्स विभागलाई हस्तान्तरण गरिएको थियो। नेपालमै गरिएको प्रयोगशाला परीक्षण सफल भएपछि लाइसेन्स हस्तान्तरण गरिएको ढुङ्गानाले बताउनुभयो। सम्झौताअनुसार पहिलो तीन महिनामा तीन लाख र बाँकी तीन महिनामा नौ लाख गरी कुल १२ लाख लाइसेन्स छाप्ने लक्ष्य तय गरिएको छ।

केन्द्रमा छापिने स्मार्ट लाइसेन्समा चिपको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ। केन्द्रका अनुसार कार्डमा उच्चस्तरीय सुरक्षाका लागि छ तहसम्म प्रविधि प्रयोग गरिएको छ। कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमा दृश्य र अदृश्य दुवै प्रकारका सुरक्षा संयन्त्र समावेश छन्।

लाइसेन्सबाहेक केन्द्रले हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा तथा भिसा स्टिकर छपाइ गर्ने तयारी पनि गरिरहेको छ। यसअघि इराकबाट ल्याइएका दुई उच्चसुरक्षित डिजिटल मेसिनबाट अन्तःशुल्क स्टिकरको नमुना छपाइ गरिएको थियो। ती मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क स्टिकर छाप्न सकिने क्षमता रहेको जनाइएको छ।

केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि सुरक्षित मुद्रणका नाममा विदेश जाने वार्षिक करिब १० अर्ब रुपैयाँ जोगिने अपेक्षा गरिएको छ। केन्द्र सञ्चालनका लागि करिब २०० प्राविधिकसहित एक हजार जनशक्तिको आवश्यकता पर्ने बताइएको छ।

सरकारले विसं २०८० मा सुरक्षण मुद्रण क्षेत्रको विकासका लागि तीन चरणको गुरुयोजना तयार गरेको थियो। पहिलो चरणमा पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी १० वर्षभित्र सार्क र दक्षिणपूर्वी एसियाली मुलुकलाई सेवा विस्तार गर्ने र तेस्रो चरणमा १५ वर्षभित्र अन्य तेस्रो मुलुकसम्म सेवा पुर्‍याउने लक्ष्य लिइएको छ।

यसअघि प्रयोगविहीन अवस्थामा रहेको सूचना–प्रविधि पार्कलाई पाँच वर्षअघि सुरक्षण मुद्रण केन्द्रमा रूपान्तरण गरिएको हो। २५७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा दुई ठूला प्रशासनिक तथा व्यापारिक भवनसहित आवासीय भवन र गोदामहरू रहेका छन्।

धेरै पढिएको