News Desk
नेपाल र बंगलादेशबीच आपसी व्यापारमा दुवै देशका राष्ट्रिय मुद्राको प्रयोग छिटो कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ। बंगलादेशको ढाकामा सम्पन्न बैठकमा प्राविधिक टोलीले सम्बन्धित केन्द्रीय बैंकसँग सहकार्य गर्दै दुवै मुलुकको मुद्रा प्रयोग गर्ने सम्भावनाबारे विचार–विमर्श गरेको हो।
बैठकमा अमेरिकी डलरमाथिको निर्भरता घटाउने उपायहरूबारे विशेष ध्यान दिइएको बताइएको छ। साथै, नेपाल र बंगलादेशमा उत्पादन हुने वस्तुहरूको आयात–निर्यात प्रक्रियालाई सहज बनाउन भन्सार प्रणाली सरल बनाउने विषयमा पनि छलफल भएको वाणिज्य मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो।
उहाँका अनुसार बैठक बुधबारसम्म जारी रहनेछ। हाल नेपाल र बंगलादेशबीच वार्षिक रूपमा पाँच अर्ब रुपैयाँभन्दा बढी मूल्यको वस्तु कारोबार हुँदै आएको छ।