गोर​खामा अघिल्लो वर्षको तुलनामा सुन्त​ला उत्पाद​न​ करिब १५ प्रतिशत बढी 
News Desk
Jan-25 तारिख 01:24 बेलुका

गोरखा जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार चालु वर्ष जिल्लाभर करिब ३ हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १५ प्रतिशत बढी हो।

एकाइकी सूचना अधिकारी पूजा रेग्मीका अनुसार सुन्तला बिक्रीबाट किसानले करिब २२ करोड रुपैयाँ आम्दानी गरेका छन्। यसका साथै कागती बिक्रीबाट करिब १ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो। उत्पादन बढेपछि किसानहरू उत्साहित बनेको उहाँको भनाइ छ। यस वर्ष १५ देखि २० प्रतिशतसम्म उत्पादन वृद्धि भएको आँकलन गरिएको छ।

रेग्मीका अनुसार मौसम अनुकूल रहनु र अघिल्ला वर्षमा रोपिएका सुन्तलाका बोटले यस वर्षदेखि उत्पादन दिन थाल्नु नै उत्पादन वृद्धि हुनुका मुख्य कारण हुन्। “मौसमले साथ दिएको छ, साथै पहिले लगाइएका बोटहरू फल दिन थालेकाले उत्पादनमा राम्रो वृद्धि देखिएको हो,” उहाँले भन्नुभयो।

पछिल्ला वर्षका तथ्यांक हेर्दा गोरखामा सुन्तला उत्पादन क्रमशः बढ्दो क्रममा देखिन्छ। गत वर्ष जिल्लामा करिब १ हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा १ हजार ६०० मेट्रिक टन र आव २०७९/८० मा १ हजार ८०० मेट्रिक टन उत्पादन भएको सूचना अधिकारी रेग्मीले बताउनुभयो।

कृषि ज्ञान केन्द्र गोरखाले पनि यस वर्ष सुन्तलाको उत्पादन बढेको पुष्टि गरेको छ। केन्द्रका सूचना अधिकारी सुमन भट्टराईका अनुसार जिल्लाभर करिब १५ प्रतिशतले उत्पादन वृद्धि भएको हो। आम्दानीको विस्तृत विवरण भने केन्द्रले नराखेको उहाँले जानकारी दिनुभयो। “मौसमको अनुकूलता र किसानको मेहनतले उत्पादन बढेको हो, केन्द्रले प्राविधिक सहयोग निरन्तर गर्दै आएको छ,” उहाँले भन्नुभयो।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले गोरखामा सुन्तला जात फलफूल खेती प्रवर्द्धन गर्न ‘सुन्तला जोन’ कार्यक्रम लागू गर्दै आएको छ। एकाइ प्रमुख पूर्ण ढुङ्गानाका अनुसार गण्डकी, सहिदलखन, भीमसेनथापा गाउँपालिका र गोरखा नगरपालिकाका सबै वडा, पालुङटार नगरपालिकाका वडा नं ९ र १० तथा सिरानचोक गाउँपालिकाका वडा नं २, ४ र ५ लाई समेटेर सुन्तला जोन घोषणा गरिएको छ।

ढुङ्गानाका अनुसार उत्पादन वृद्धि गर्न बगैँचा व्यवस्थापन, चक्लाबन्दी, क्षेत्र विस्तार, साना सिँचाइ पूर्वाधार निर्माण, उन्नत प्रविधिको प्रदर्शन तथा साना कृषि मेसिनरी वितरणजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्। सुन्तला जोन बाहेकका क्षेत्रमा पनि करिब १० प्रतिशत उत्पादन हुने गरेको उहाँले बताउनुभयो।

गोरखा जिल्लाको गण्डकी, भीमसेनथापा, सहिदलखन, सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका तथा उत्तरी गोरखाको धार्चे गाउँपालिका अन्तर्गत कासीगाउँ क्षेत्रमा सुन्तला खेती हुँदै आएको छ। गण्डकीका ताङ्लीचोक, भुम्लिचोक, फलाटे, फुजेल तथा सहिदलखनका मनकामना, ताक्लुङ, मास्केछाप, तीनमाने र अँधेरीलाई सुन्तलाको मुख्य पकेट क्षेत्र मानिन्छ।

त्यसैगरी भीमसेनथापाको तान्द्राङ, पालुङटारको बागडाँडा र शेरा तथा गोरखा नगरपालिकाको ताप्ले, नारेश्वर, फिनाम र भट्टबेँसी पनि सुन्तला उत्पादनका प्रमुख क्षेत्र हुन्। जिल्लामा करिब १ हजार ९७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ भने करिब ३०० किसान यस व्यवसायमा आबद्ध छन्। यहाँका किसानले मुख्यतः खाकु र स्थानीय जातका सुन्तला उत्पादन गर्दै आएका छन्।

धेरै पढिएको