News Desk
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रिना डङ्गोल नियुक्त हुनुभएको छ। २०८२ माघ २२ गते प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उहाँलाई उक्त जिम्मेवारी दिएको हो।
नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार डङ्गोलले बङ्गलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नातक (बीई) अध्ययन गर्नुभएको छ। उहाँ २०५१ जेठ १ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी रूपमा सेवा प्रवेश गरी २०५२ जेठ ९ गते स्थायी हुनुभएको थियो।
डङ्गोल २०८० जेठ ३२ गतेदेखि नेपाल टेलिकमको नायब प्रबन्ध निर्देशकका रूपमा कार्यरत रहँदै आउनुभएको थियो। यस अवधिमा उहाँले प्रादेशिक निर्देशनालय विराटनगर र काठमाडौं तथा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गर्नुभएको छ।
पदभार ग्रहणका अवसरमा नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डङ्गोलले आफूलाई दिइएको जिम्मेवारीप्रति विश्वास र सद्भाव प्रकट गरेकामा नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभएको छ।