News Desk
काठमाडौं । एनआइसी एसिया क्यापिटलले आफ्नो ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । सोही सेवाका लागि होटल इष्टर्न नेपाल लिमिटेडबीच सम्झौता भएको छ । मेचीनगर-१० मा कारोबार कार्यालय रहेको होटल इष्टर्न नेपालको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानुनको अधिनमा रही भविष्यमा सर्वसाधारणमा प्राथमिक सेयर(आइपिओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुईपक्षीय सम्झौता भएको हो ।
होटल इष्टर्न नेपाल मेचीनगर-१०, झापामा रहेको अन्तर्राष्ट्रियस्तरको प्रस्तावित पाँचतारे होटल हो । उक्त होटल सञ्चालनका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रुप–एसिया प्यासिफिक पिटिइ एलटिडी(आइएचजी) को ब्राण्डअन्तर्गतको ख्यातिप्राप्त ब्राण्ड ‘होलिड इन एस्प्रेस एण्ड स्वीट्स’सँग व्यवस्थापकीय सम्झौतासमेत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । जसअन्तर्गत होटलको समग्र व्यवसाय विस्तार, होटल सञ्चालन तथा व्यवस्थापनमा प्रत्यक्ष सहभागिता रहनेछ । कम्पनीका अनुसार निर्माणको अन्तिम चरणमा रहेको होटल इष्टर्न नेपाल आगामी २०८३ साल वैशाखभित्र नियमित रूपमा सञ्चालनका लागि बुकिङ खुला गर्ने लक्ष्यसहित सम्पूर्ण आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
होटल सञ्चालनमा आउनासाथ पाँचतारे होटलस्तरको सम्पूर्ण सेहवाहरू उपलब्ध हुनेछन् । होटल निर्माण सम्पन्न गरी नियमित सञ्चालनमा आएको अवस्थामा होटल रहेको स्थान भारतीय सीमा सात किलोमिटर दूरी रहेको तथा इण्डियन एयरपोर्ट, बागडोरा जम्मा २७ किलोमिटर दूरीमा रहेकाले भारतीय पर्यटकको उपस्थिति उल्लेख्य रूपमा रहने देखिएकाले होटलको व्यवसाय विस्तार सहज र सरल हुन गई होटलले उचित आम्दानी गर्न सक्ने बलियो सम्भावना रहेको छ । होटल इष्टर्न नेपालले अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा उपलब्ध गराउने भएकाले उक्त होटल सञ्चालनपछि नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
होटल सञ्चालनपछि अन्तर्राष्ट्रियस्तरको सेमिनार, सभा सम्मेलन तथा गोष्ठीहरू नेपालमा गराउन सहज र वैदेशिक मुद्रा आर्जन गरी देशको अर्थव्यवस्था मजबुत बनाउनसमेत महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । साथै एनआइसी एसिया क्यापिटलले ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत प्रालि कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्कासनसम्मको कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेकाले उक्त सेवा लिन चाहने कम्पनीहरूले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई सम्पर्क गर्न सकिने पनि कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।