News Desk
राष्ट्र बैंकका अनुसार एनआइसी एशिया बैंकले निर्देशन बारम्बार उल्लङ्घन गर्दै वित्तीय विवरण प्रकाशन गरेको तथा लिखित आदेशसमेत पालना नगरेको पाइएपछि तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई जनही दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। उक्त कारबाही नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २ (ग) बमोजिम गरिएको हो।
त्यसैगरी, ग्लोबल आइएमई बैंकको स्थलगत निरीक्षणमा कर्जा नोक्सानी व्यवस्था पर्याप्त नराखिएको, पुनर्तालिकीकरण तथा पुनरसंरचना सम्बन्धी प्रावधान पूर्ण रूपमा पालना नभएको पाइएको छ। साथै ‘कोर बैंकिङ सफ्टवेयर’ मा चुक्ता भइसकेको कर्जालाई पुरानै भ्यालु डेटमा पुनः सिर्जना गर्न सकिने अवस्था देखिएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जासम्बन्धी कागजातमा ग्राहकको सहीछाप नगराएको, सुरक्षणभन्दा बढी कर्जा प्रवाह गरेको तथा समान प्रकृतिका कर्जामा दुई प्रतिशत विन्दुभन्दा बढी ब्याजदर अन्तर कायम गरेको पाइएको छ। साथै चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ विपरीत त्रैमासको अन्तिम महिनामा नयाँ अल्पकालीन कर्जा प्रवाह गरेकाले सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।