"निजी क्षेत्रको सक्रिय सहभागिताविना राष्ट्रिय आर्थिक गणना सफल हुँदैन" : अध्यक्ष अग्रवाल
News Desk
Feb-19 तारिख 01:23 बेलुका

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्स बीच राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा सहकार्य गर्ने सहमति भएको छ। यसै सन्दर्भमा चेम्बर सचिवालयमा आयोजित उद्योगी–व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रको सक्रिय सहभागिताविना गणना सफल हुन नसक्ने स्पष्ट पार्नुभयो।

अध्यक्ष अग्रवालले राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग–व्यवसायको वर्तमान स्थिति, लगानीको प्रवृत्ति तथा रोजगारीको यथार्थ चित्र प्रस्तुत गर्ने बताउनुभयो। उहाँले यस्ता तथ्याङ्कले नीति, नियम तथा योजना निर्माणलाई तथ्यमा आधारित बनाउँदै दीर्घकालीन आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो। आवश्यक समन्वय र सहकार्यका लागि चेम्बर पूर्ण रूपमा तयार रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रतिनिधिहरूले गणनाको उद्देश्य, आवश्यकता र महत्वबारे जानकारी गराउँदै संकलित तथ्याङ्कको गोपनीयता सुनिश्चित गरिने विश्वास दिलाएका थिए। सहभागीहरूले विश्वसनीय तथ्याङ्कमार्फत प्रभावकारी आर्थिक नीति निर्माणका लागि सरकारी र निजी क्षेत्रबीच घनिष्ठ सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

 

 

धेरै पढिएको