News Desk
मुस्ताङ |चालु आर्थिक वर्षको पहिलो सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ पुगेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि माघसम्मको अवधिमा ६९ हजार ८१४ विदेशी तथा दुई लाख ५५ हजार ७४४ स्वदेशी पर्यटक जिल्लामा भित्रिएका हुन्।
प्रहरीको तथ्याङ्कअनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै मासिक रूपमा पर्यटकको आगमन भएको छ। साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार चार जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका छन्।
यद्यपि, गत आर्थिक वर्षको सोही अवधिमा तीन लाख ४० हजार ७२९ पर्यटक मुस्ताङ भ्रमण गरेका थिए। यस आधारमा चालु वर्षमा अघिल्लो वर्षको तुलनामा १८ हजार १७१ जना अर्थात् ५.३३ प्रतिशतले पर्यटक आगमन घटेको देखिएको छ।
प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी–मुस्ताङ सीमास्थित घाँसामा सडकमार्गबाट प्रवेश गर्ने पर्यटकको अभिलेख राख्ने गरिएको छ। साथै, पोखरा–जोमसोम हवाई मार्ग तथा मनाङ हुँदै थोरङ्ला पास पार गरी मुस्ताङ प्रवेश गर्ने पर्यटकको विवरण सम्बन्धित प्रहरी एकाइमार्फत सङ्कलन हुँदै आएको छ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा चार लाख ५४ हजार ३२६ र आर्थिक वर्ष २०८१/८२ मा सात लाख पाँच हजार ७७९ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका थिए।
हालका वर्षहरूमा राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक विस्तार र यातायात सहज बन्दै गएपछि मुस्ताङको आकर्षण बढ्दो छ। सार्क राष्ट्रबाट आउने विदेशीमध्ये अधिकांश भारतीय पर्यटक मुक्तिनाथको दर्शन गरी फर्कने गरेका छन् भने अन्य देशका पर्यटकले सडकमार्ग वा मनाङ हुँदै थोरङ्ला पास पार गरेर मुस्ताङ प्रवेश गर्ने गर्छन्।
कागबेनी क्षेत्रमा पितृ उद्धारका लागि श्राद्ध तथा मुक्तिनाथ दर्शन गर्न आउने स्वदेशी भक्तजनको संख्या पनि बढिरहेको छ। कुल विदेशी पर्यटकमध्ये करिब तीन प्रतिशतले मात्र माथिल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन्। पछिल्लो समय जोमसोम–कोरला सडक सहज बनेपछि स्वदेशी पर्यटक कोरला नाकासम्म पुग्ने क्रमसमेत बढेको देखिएको छ।