News Desk
अन्नपूर्ण गाउँपालिका–१ दोवाबाट धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण कार्य सुरु गरिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको १० लाख रुपैयाँ बजेटबाट उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण अघि बढाइएको हो।
उपभोक्ता समितिका अध्यक्ष विकास पुनका अनुसार फागुनको पहिलो सातासम्म गुन्थली भिर, देउराली डाँडा, ठूलोखानी, भित्रे वन, ठूलो घैरा भ¥याङ हुँदै भिरखर्कसम्म पदमार्ग निर्माण सम्पन्न भइसकेको छ। प्राविधिक नक्साअनुसार हालसम्म तीन किलोमिटर पदमार्ग तयार भएको र थप एक किलोमिटर निर्माणाधीन रहेको उहाँले जानकारी दिनुभयो।
निर्माण कार्यमा दोवाका करिब २० जना स्थानीय बासिन्दा सक्रिय रूपमा जुटेका छन्। बस्तीबाट निर्माणस्थल टाढा भएकाले उनीहरू जङ्गलमै त्रिपालको अस्थायी गोठ बनाएर बस्दै काम गरिरहेका छन्।
चालु आर्थिक वर्षभित्र खोलाखर्कसम्म पदमार्ग विस्तार गर्ने लक्ष्य रहेको उपभोक्ता समितिले जनाएको छ। परापूर्वकालदेखि स्थानीयले लेक–बेंसी गर्दा प्रयोग गर्दै आएको पुरानो गोरेटो बाटोलाई पहिचान गरी व्यवस्थित पदमार्गका रूपमा विकास गर्न लागिएको वडा अध्यक्ष दिलिप गर्बुजाले बताउनुभयो।
बेनी–जोमसोम सडक निर्माणपछि करिब १५ वर्षअघि धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो, जसले म्याग्दी र मुस्ताङलाई जोड्छ। रघुगंगा गाउँपालिकाको राखुबाट सुरु हुने मुख्य पदमार्ग मुस्ताङको लेतेसम्म पुग्ने गर्दछ। अहिले यस मुख्य मार्गमा नजिकका बस्तीहरूबाट सहायक पदमार्ग जोड्ने काम पनि भइरहेको छ।
मगर समुदायको बाहुल्य बसोबास रहेको दोवा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आइसफलसँग जोड्ने पदमार्ग निर्माणलाई प्राथमिकता दिइएको वडा कार्यालयले जनाएको छ।