News Desk
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनका लागि अब उपभोक्तालाई आधा सिलिन्डर मात्र वितरण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको निगमको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार बजारमा देखिएको असन्तुलनलाई ध्यानमा राख्दै आधा सिलिन्डर वितरणको व्यवस्था लागू गरिनेछ।
निगमका अनुसार उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर घरमै भण्डारण गर्न थालेपछि बजारमा कृत्रिम अभाव देखिन थालेको छ। यही अवस्थालाई नियन्त्रण गर्न बजारमा आधा सिलिन्डर मात्र पठाउने नीति अपनाइएको हो।
पछिल्ला दुई महिनादेखि ग्यासको आपूर्ति नियमित हुन नसक्दा बजारमा अभाव देखिएको छ। साथै पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वको सम्भावनाले पनि उपभोक्तामा ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेको बताइएको छ।
नेपालले खाना पकाउने ग्यास मुख्य रूपमा भारतबाट आयात गर्दै आएको छ। इन्डियन आयल निगमसँग खरिद गरेर नेपाल आयल निगमले देशभर वितरण गर्दै आएको हो। तर पछिल्लो समय भारतबाट मागअनुसार ग्यास आपूर्ति हुन सकेको छैन।
सामान्य अवस्थामा नेपालमा दैनिक करिब १२० बुलेट ग्यास आवश्यक पर्ने भए पनि हाल दैनिक करिब ८० बुलेट मात्र भित्रिने गरेको निगमले जनाएको छ।
यसअघि पनि सन् २०१५ मा भारतले लगाएको नाकाबन्दीका बेला सरकारले उपभोक्तालाई आधा सिलिन्डर ग्यास वितरण गर्ने व्यवस्था लागू गरेको थियो।