ग्यास अभावको हल्ला फैलाउन नदिन निगमको आग्रह, आपूर्ति सामान्य रहेको दाबी
News Desk
Mar-14 तारिख 12:05 बेलुका

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात नियमित रूपमा भइरहेकाले अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न उपभोक्तासँग आग्रह गरेको छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतबाट ग्यास आपूर्ति साविककै मात्रामा भइरहेकाले हालसम्म बजारमा आपूर्तिमा कुनै समस्या नभएको स्पष्ट पार्नुभयो।

उहाँका अनुसार ग्यास अभाव हुने भन्ने हल्लाका कारण उपभोक्ताले आवश्यकभन्दा बढी सिलिन्डर संकलन गर्न थालेपछि बजारमा कृत्रिम अभावजस्तो स्थिति देखिएको हो। यस्तो अवस्थालाई नियन्त्रणमा लिन र आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अहिले आधा ग्यास सिलिन्डर बिक्री वितरणको व्यवस्था सुरु गरिएको प्रवक्ता ठाकुरले जानकारी दिनुभयो।

नेपालमा ग्यासको पर्याप्त आपूर्ति भइरहेकाले अनावश्यक भण्डारण नगर्न निगमले आमउपभोक्तालाई पुनः आग्रह गरेको छ। यद्यपि आजको दिनसम्म मागको शतप्रतिशत ग्यास आपूर्ति भइरहेको भए पनि आगामी दिनको अवस्थाबारे भने निश्चित रूपमा भन्न नसकिने प्रवक्ता ठाकुरको भनाइ छ।

धेरै पढिएको